प्रतिनिधि सभाको आइतबारको बैठक सामान्य र सुखद रहेन।
सभाको बैठक सामान्य ढंगबाट चल्दा सांसदहरूले आफ्नो पालो र नियमअनुसार धारणा राख्छन्।
आइतबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दुवैले सदनमा बोल्न माग गर्दै उठेर होहल्ला गरे। एकअर्काविरुद्ध आक्रोश पोखे। कसैले औंला ठड्याए, कसैले छाती पिटे।
यस्तो आवेग र आक्रोशपूर्ण बैठकको प्रत्यक्ष प्रशासण (लाइभ) भने भएन।
आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठक समयमै सुरू भएन। अबेर गरी १२ बजेर ५५ मिनेटमा सुरू भएको बैठक १ बजेर २० मिनेटसम्म चलेको थियो। तर सो समयमा बैठकको लाइभ सर्वसाधारणले हेर्न पाएनन्।
मिडियाहरू भिजुअलबाट बञ्चित भए। सामान्यतया प्रतिनिधि सभाको बैठकको प्रतिनिधि सभाले आफ्नै युट्युब च्यनालबाट प्रत्यक्ष प्रशारण गर्ने गरेको छ। सञ्चार माध्यमहरूले पनि त्यही लाइभ फिड हेरेर समाचार बनाउने गरेका छन्।
तर प्रतिपक्षीहरूको अवरोध जारी रहेको संसदको फिड रोकिनु कतै सभामुख देवराज घिमिरेको सुनियोजित कदम त हैन भन्ने प्रश्न खडा भएको छ।
सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठकमा आइतबार सांसदहरूले ‘माइक अन’ गर्न माग गर्दासमेत माइक खोलिदिएका थिएनन्। उनले बैठकमै सांसदहरूको आवाज रेकर्ड हुने माइकको प्रबन्ध नगरिएकाले बाहिर पनि नगएको बताएका थिए।
प्रतिनिधि सभामा केही दिन यता प्रतिपक्षी दलको अवरोध चलिरहेको छ। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन्। उनीहरूले प्रधानमन्त्रीको जबाफ मागेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले बैठकको लाइभ काटिएको विषयमा प्रश्न उठाएका छन्।
‘लाइभ बन्द गरिनु सुनियोजित हो भन्ने हाम्रो आशंका छ। महासचिव र सभामुखसँग हाम्रो दलका प्रमुख सचेतकले कुराकानी गर्नुभएको छ’, सापकोटाले भने, ‘आजको संसदको लाइभ काटियो। भित्र हामीभन्दा ज्यादा उग्र भएर टेबल ठटाएर सत्तापक्षको सांसद हामी प्रतिपक्षीमाथि झम्टने र हमला गर्ने स्थिति थियो।’
तर संघीय संसद सचिवालयले भने आइतबारको लाइभ प्राविधिक कारण मात्र रोकिएको जनाएको छ।
संघीय संसदका प्रवक्ता एकराम गिरीले लाइभका लागि प्रयोग हुने सफ्टवेयर आउटडोर ब्रोडकास्टिङ सर्भिस (ओबिएस) ले भिडिओ सपोर्ट नगरेको बताए।
‘सफ्टवेयरले भिडिओ सपोर्ट नगरेपछि ‘क्याप्चर कार्ड’मा समस्या आएको हो कि भनेर फेरेर हर्यौं’, गिरीले भने, ‘हामीसँग राष्ट्रिय सभाको तर्फको कार्ड थियो तर चलेन। सफ्टवेयर अनइस्टल गरेर इन्स्टल पनि गर्यौं, भएन।’
उनले लाइभ नआउनुको घटना कुनै सुनियोजित नभएको बताए।
‘हाम्रो सिस्टम भित्रैबाट कान्तिपुर टेलिभिजन र नेपाल टेलिभिजनमा लाइभ फिड जाने व्यवस्था छ। उहाँहरूकोमा आज लाइभ गएको थियो’, गिरीले भने, ‘सुनियोजित भएको भए हामी त्यो पनि रोक्थ्यौं होला नि!’ उनले भिडिओ लाइभ गर्न नसके पनि केहीबेर भित्रै युट्युबमा अपलोड गरिएको बताए।
तर लाइभ गर्नका लागि संघीय संसद सचिवालयमा एउटा मात्र कम्युप्टर रहेकाले कहिलेकाहीँ समस्या देखापर्ने गरेको गिरीले स्वीकार गरे।
‘हामीसँग एउटा मात्र कम्प्युटर छ। प्राविधिक साथीहरू दुई जना हुनुहुन्छ। पालैसँग ड्युटी गर्नुहुन्छ’, गिरीले भने, ‘बैठक अघि सधैं हामी लाइभ फिड टेस्ट गर्छौं। आज टेस्ट गर्दा पनि लाइभ हुन सकेन। अहिले प्राविधिक बोलाएर चेकजाँच गरिरहेका छौं।’
आइतबारको बैठकमा प्रतिपक्षीसँगै सत्तारूढ दलहरू पनि उभिएर सभामुखसँग बोल्न समय माग गरेका थिए। उनीहरूले तीनकुने घटनाको विषयमा बोल्न खोजेका थिए। त्यस्तै राप्रापका सांसदहरूले पनि तीनकुने घटनाबारे धारणा राख्न सभामुखसँग समय मागेका थिए।
प्रतिनिधि सभाको लाइभ रोकिएको बैठकमा आइतबार पत्रकारको प्रवेशमा समेत कडाइ गरिएको थियो। सभाको बैठक कक्षमा प्रवेश गर्ने पत्रकारहरूका लागि अनिवार्य नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
संसदमा यसअघि सचिवालय आफैले जारी गरेको पासका आधारका प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो। तर अबदेखि पत्रकारका लागि बैठक कक्षमा प्रवेश गर्न सुरक्षाकर्मीको पनि अनुमति चाहिने गरि नाम दर्ताको व्यवस्था थप गरिएको छ।
संघीय संसद सचिवालयमा पछिल्ला दिनहरू मिडियाप्रति अनुदार बन्दै गएको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समितिहरू संघीय निजामती सेवासम्बन्धी विधेयक छलफलमा पत्रकारहरूलाई रोक लगाएको थियो।
संसद सचिवालयले दुई पत्रकारलाई प्रधानमन्त्रीलाई प्रश्न सोधेकै कारण पास निलम्बन गरेको थियो।