'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई नजरबन्दमा नराखिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले दाबी गरेको छ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि प्रहरीले उनलाई घरमै नियन्त्रणमा राखिएको खबर बाहिरिएको थियो।
तर उनलाई नजरबन्द नगरिएको गृहमन्त्री लेखकका प्रेस संयोजक शेरबहादुर सिंहले जानकारी दिए।
तीनकुने घटनामा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंले ४१ जनाविरूद्ध म्याद थप्ने तयारी गरेको छ।
जसमध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ११ जनाविरूद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान हुने भएको हो।
बाँकीविरूद्ध आपराधिक उपद्रव र संगठित अपराधमा अर्को मुद्दामा अनुसन्धान अघि बढाउन लागेको हो।
सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई १० दिन म्याद थपको माग गरेको छ।
सुवेदीले भने आफूलाई सरकारले नजरबन्दमा राखेको भन्दै विज्ञप्ति नै जारी गरेका छन्। आफ्नो अनुपस्थितिमा 'संयुक्त जनआन्दोलन समिति' को नेतृत्व जगमान गुरूङले गर्ने भएका उनको भनाइ छ।
यो पनि: नवराज सुवेदीले दिए 'संयुक्त जनआन्दोलन' को नेतृत्व जगमान गुरूङलाई