प्रतिनिधि सभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको आइतबारको बैठक केहीबेर चलेर स्थगित भएको थियो। त्यसपछि सूचना टाँस गर्दै बैठकको समय सार्दै आइएको थियो।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसदको गतिरोध अन्त्य गर्न पटक पटक सत्ता र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।
साथै सभामुख घिमिरे र अध्यक्ष दाहालले आइतबार अपराह्न छलफल पनि गरेका थिए। उक्त छलफलपछि सोमबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने निर्णय भएको स्रोतको भनाइ छ।
विपक्षी दलहरूले कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा दुवै सदनमा प्रधानमन्त्रीको जबाफ मागेका थिए भने सदन अवरोध गर्दै आएका थिए।
साथै आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्षी दलहरूका सांसदहरूले बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेका थिए।
* यसअघि राष्ट्रिय सभा पनि स्थगित भन्ने उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक