नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सरकारको कमजोरीको कारण राजावादीको प्रदर्शन अराजकतामा परिणत हुँदा पनि प्रहरी निरिह बन्नुपरेको बताएका छन्।
आइतबार संघीय संसदको परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका छन्।
राजावादी समूहका प्रदर्शनकारीहरू कहिले जुलुस निस्केला र लुटौंला भनेर बसेको देखिएको समेत उनको टिप्पणी छ।
उनले राजावादीहरू राजनीतिक इच्छाका कारण नभई धमिलो पानीमा माछा मार्ने उद्देश्यले प्रदर्शन गरिरहेको तर्क गरे।
उनले मान्छे नै मार्ने र निजी सम्पत्तिमा आगजनी तथा लुटपाट भएको अवस्थामा प्रहरीले साइत हेरेर बस्न नहुने बताए।
उनले भने, ‘तीनकुनेमा जुलुस निक्लिने, भाटभटेनीमा लुटपात मच्चिने! कहिले जुलुस निस्केला र लुट्न पाइएला भनेर हेरिबसेको देखिएन? देखियो नि। त्यो त नेतृत्वले जिम्मा लिनुपर्छ नि। त्यसकारण राजनीतिक इच्छाका कुराले भन्दा पनि धमिलो पानीमा माछा मार्ने उद्देश्यका साथ गतिविधि अघि बढेको त देखियो नि। त्यसकारणले राज्यको उपस्थिति पनि कमजोर देखियो। प्रहरीहरू निरिहजस्तो देखियो। आदेश चाहियो नि। सार्वजनिक सम्पत्तिमा आगजनी भइसक्यो, मान्छे मर्न थालिसके, लुटपाट भइराछ भनेपछि प्रहरीले साइत हेरेर बसेर हुन्छ?
सरकारको गम्भीर त्रुटीका कारण धेरै जनधनको क्षति भएको उनको जिकिर छ। —न्युज एजेन्सी नेपाल