राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।
आइतबारको प्रतिनिधि सभा बैठकमा उनी पक्राउ परेकोबारे सूचना सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन्।
राप्रपा महामन्त्री राणा प्रतिनिधि सभा सांसद छन्।
उनीविरूद्ध तीनकुनेमा चैत १५ गते हिंसा भड्काएको र राज्यविरूद्ध कसुरमा अनुसन्धान भएको जानकारी संघीय संसद सचिवालयमा पुगेको हो।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो। प्रसाईंले चलाएको गाडीले प्रहरीलाई पेलेर सुरक्षा घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गरेको थियो।
प्रसाईंले सुरक्षा घेरा तोडेपछि प्रदर्शनकारीहरू पनि उनीसँगै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
त्यसपछि प्रदर्शनकारीहरूले व्यक्तिगत घर तोडफोड र आगजनी गरेका थिए।
प्रसाईंले आह्वान गरेको प्रदर्शनमा नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन गरेको थियो।
यो समितिमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणा पनि सदस्य छन्। उनीहरू पनि तीनकुने प्रदर्शनमा पुगेका थिए। मिश्र र राणाले प्रदर्शनकारीहरूलाई भड्काउने भूमिका खेलेको आरोप छ।
गत शुक्रबार साँझ मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो। प्रसाईं भने फरार छन्। राप्रपाले शनिबार बैठक गर्दै मिश्र र राणालाई २४ घन्टाभित्र छाड्न अल्टिमेटम दिएको थियो।
तर प्रहरीले आइतबार मिश्र र राणालाई म्याद थप गर्नका लागि अदालत उपस्थित गराउने तयारी गरेको छ।