तीनकुनेमा शुक्रबार हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा लगायतलाई आइतबार अदालत उपस्थित गराउने तयारी छ।
राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई आइतबार म्याद थपका लागि अदालत लगिने तयारी रहेको काठमाडौं प्रहरी परिसरका एक उच्च अधिकारीले जानकारी दिए।
'उहाँहरूलाई म्याद थपका लागि अदालत लैजाने तयारी छ। त्यसको प्रक्रियामा छौं,' ती अधिकारीले सेतोपाटीसँग भने।
मिश्र, राणा र स्वागतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरी परिसरको जिम्मा लगाएको थियो।
खतिवडा भने शनिबार पक्राउ परेका थिए।
शनिबार अदालत बन्द हुने भएकाले आइतबार उनीहरूलाई बाँकी प्रक्रियाका लागि अदालत उपस्थित गराउन लागिएको हो।
प्रहरीले शनिबार उनीहरूलाई कुन-कुन मुद्दा चलाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो।
उनीहरूलाई 'राज्यविरूद्धको अपराध कसुर'मा मुद्दा चलाउन सकिने ती अधिकारीले जानकारी दिए। त्यससँगै ज्यान मार्ने उद्योग, आगजनी, संगठित अपराध, हिंसात्मक गतिविधि कसुर आकर्षित हुने र तिनै कसुरमा मुद्दा चलाउन सकिने विषयमा छलफल भएको उनले बताए।
'तीनकुनेमा हिंसात्मक गतिविधि भयो। सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी भए। त्यहाँ मानिसहरू समेत मारिए। घाइते भए। यी सबै विषयमा आकर्षित हुने मुद्दा चलाउन सकिन्छ,' ती अधिकारीले भने।
शुक्रबार दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनपछि तीनकुने-कोटेश्वर-जडिबुटी क्षेत्रमा तोडफोड र आगजनी भएको थियो।
नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना समितिले पनि प्रसाईंको प्रदर्शनलाई समर्थन गरेको थियो। उक्त समितिमा मिश्र र राणा पनि थिए।