काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्।
शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले दुर्गा प्रसाईंनिकट मुनिन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए।
भण्डारीलाई बालाजुबाट पक्राउ गरेको उनले बताए।
'प्रसाईंका सहयोगी हुन्, शुक्रबारको आन्दोलनमा दुर्गा प्रसाईंसँगै गाडीमा हिँडेका थिए,' एसपी बोहोराले भने।
दुर्गा प्रसाईं भने फरार छन्। उनको खोजी भइरहेको पनि एसपी बोहराले जानकारी दिए।
प्रसाईंका अर्का निकटस्थ धर्मगुरू पुस्कर खतिवडा पनि शनिबार नै पक्राउ परेका थिए। उनलाई ललितपुर प्रहरी परिसरको टोलीले उनकै घरबाट पक्राउ गरेको थियो।
शुक्रबार राति तीनकुनेबाट भागेका प्रसाईं धर्मगुरूसँग उनकै घर पुगेको पनि खुलेको छ। प्रसाईंसहित शुक्रबारको प्रदर्शनमा सहभागी भएकाहरूको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुर गरी तीनै जिल्लाका प्रहरीसहित अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।
तीनकुने घटनामा अहिलेसम्म १११ जना पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए।
तीनकुनेको प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो । एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरज रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो।
प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा १२३ जना सुरक्षाकर्मी घाइते भएको एसपी बोहराले जानकारी दिए। तीमध्ये १०७ जना डिस्चार्ज भइसकेका छन् भने २२ जना सुरक्षाकर्मीको उपचार भइरहेको छ।
प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएको र १६ जना उपचाररत रहेको एसपी अधिकारीले जानकारी दिए। ३५ जना डिस्चार्ज भइसकेका छन्।
प्रदर्शनकारीहरूले निजी तथा सरकारी गरी १८ वटा कार्यालय तोडफोड गरेको, १२ ठाउँमा आगजनी गरेको र एक ठाउँमा लुटपाटसमेत भएको एसपी बोहराले जानकारी दिए।
त्यस्तै प्रहरीका ६ वटा गाडी, अरू सरकारी कार्यालयका ४, नखुलेका ६ गरी १६ वटा गाडीमा आगजनी र तोडफोड भएका थिए।
चार मोटरसाइकल र दुई स्कुटर गरी ६ वटा दुइपांग्रे सवारी साधनमा पनि प्रदर्शनकारीहरूले क्षति पुर्याएको एसपी बोहराले जानकारी दिए।