भुटानबाट निकालिएर नेपाल आइपुगेका तीन जना नयाँ शरणार्थी शनिबार पक्राउ परेका छन्।
यो घटनाले तीन दशकभन्दा बढी समयदेखि जारी भुटानी शरणार्थी समस्या फेरि बल्झिने हो कि भन्ने शंका जन्माएको बेलडाँगी शिविरमा रहेका शरणार्थीहरू बताउँछन्।
झापाको बेलडाँगी शिविरबाट पक्राउ परेका ती तीन जना अमेरिकाबाट डिपोर्ट भएर आएका हुन्।
डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि उनले आप्रवासीहरूमाथि कडा नीति लिएका छन्। विभिन्न देशबाट आएका आप्रवासीलाई लगातार डिपोर्ट गरिरहेका छन्। केही नेपालीहरू पनि डिपोर्ट भएर आइसकेका छन्।
त्यही सिलसिलामा अमेरिकी सरकारले १० जना भुटानी शरणार्थीलाई डिपोर्ट गरेर भुटान फिर्ता पठाएको थियो। उनीहरूलाई अमेरिकाबाट भारत हुँदै भुटान लगिएको हो।
ट्रम्प सरकारले ती १० जना शरणार्थीलाई उनीहरूको वास्तविक मुलुक भुटान नै फिर्ता पठाएको भए पनि त्यहाँको सरकारले अपनाउन मानेन। आजभन्दा ३५ वर्षअघि भुटान सरकारले जसरी नेपालीभाषी भुटानी नागरिकहरूलाई अनागरिक बनाएर लखेटेको थियो, यसपालि पनि अमेरिकाबाट डिपोर्ट भएर आइपुगेका १० जनालाई त्यसरी नै लखेट्यो।
शुक्रबार भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेबित्तिकै उनीहरूलाई खानपिन गराएर भारतसँगको सीमावर्ति नाका फुन्सोलिङ ल्याएर छाडिएको थियो। त्यहाँबाट उनीहरू पानीट्यांकी नाका हुँदै नेपाल छिरे। यसरी छिरेकामध्ये ३ जना भुटानी शरणार्थी शुक्रबार राति बेलडाँगी शिविर आइपुगेका हुन्।
हामीले यसबारे बेलडाँगी शिविरमा रहेका दिलबहादुर महतसँग कुरा गर्दा उनले अमेरिकाबाट डिपोर्ट भएर आएका शरणार्थीले भुटान सरकारले फेरि पनि आफ्नो देशमा बस्न नदिएको र नेपाल नै फिर्ता पठाएको बताए।
'विमानस्थलमा झरेपछि उनीहरूलाई एकदिन पनि भुटान बस्न दिइएन,' शिविरमा आइपुगेका तीन जना शरणार्थीसँगको कुराकानीका आधारमा महतले भने, 'तीमध्ये सात जना कहाँ गए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। तीन जना भने हाम्रो शिविरमा आइपुगेका थिए।'
उनीहरूलाई भुटानमा 'तिमीहरूको यहाँ जग्गा-जमिन छैन, नातागोता छैन, यहाँ बस्ने अधिकार पनि छैन' भनेर देश छाड्न निर्देशन दिइएको महतले बताए।
'बरू तिमीहरूका केही आफन्तहरू नेपालमै छन् होला, त्यसैले त्यतै जाओ भनेर फुन्सोलिङ सीमामा ल्याएर छाडेको बुझिन्छ,' उनले भने।
यो घटनाले आज पनि नेपालीभाषी समुदायप्रति भुटान सरकारको रवैया जस्ताको तस्तै रहेको छर्लंग हुने उनी बताउँछन्।
'अमेरिकाले डिपोर्ट गरेर भुटान नै पठाइदिएपछि उनीहरू भुटानी नागरिक हुन् भन्ने अन्तर्राष्ट्रिय रूपमै स्थापित भइसकेको छ। तैपनि भुटान सरकारले उनीहरूलाई आफ्नो नागरिक स्वीकार गर्न मानेन। यो नेपालीभाषी भुटानीहरूको मानवअधिकारका लागि अन्तर्राष्ट्रिय चासोको विषय हो,' उनले भने।
यी शरणार्थी कुनै समय तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत राष्ट्रसंघीय मिसनबाट प्रमाणीकरण भएर अमेरिका पुगेका थिए। राष्ट्रसंघले भुटानबाट लखेटिएका शरणार्थी हुन् भनेर प्रमाणीकरण गरिसकेका व्यक्तिलाई फेरि भुटानमा बस्न नदिनु राष्ट्रसंघको पनि चासोको विषय हुनुपर्ने उनी बताउँछन्।
'हाम्रो सबभन्दा ठूलो चिन्ता त आगामी दिनमा अरू पनि भुटानी नेपालीभाषीहरू लखेटिएर आउलान् कि भन्नेमा छ,' महतले भने, 'ट्रम्प सरकारले आप्रवासीहरू डिपोर्ट गर्ने क्रम जारी राखेको छ। भोलि थप भुटानी शरणार्थाीहरू डिपोर्ट हुन सक्छन्। ती सबैलाई भुटान सरकारले नेपाल नै फिर्ता पठाइदिने हो भने के स्थिति होला?'
नेपाल सरकारले यसबारे भुटानसँग कूटनीतिक छलफल बढाउनुपर्ने र डिपोर्ट भएर पठाइएका शरणार्थीलाई भुटानमै राख्नुपर्छ भनेर कुरा उठाउनुपर्ने उनको भनाइ छ।
नेपाल सरकारले कूटनीतिक पहलमा ढिलाइ गर्ने हो भने तीन दशकअघिको शरणार्थी समस्या फेरि बल्झिन सक्ने उनी बताउँछन्।
प्रहरीले शनिबार बेलडाँगी शिविरबाट पक्राउ गरेका भुटानी शरणार्थीहरूमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ छन्। उनीहरूमाथि थप अनुसन्धान गर्न अध्यागमन विभागमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
डिएसपी खगेन्द्र खड्काले थप भुटानी शरणार्थी नेपाल छिर्न सक्ने अवस्था देखेर नाकातिर कडाइ गरेको बताएका छन्।