नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' समाजवादी मोर्चाले राजावादीहरूको षड्यन्त्र असफल पारेको दाबी गरेका छन्।
शनिबार प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भृकुटीमण्डमा समाजवादी मोर्चाले सभा नगरेको भए शनिबार काठमाडौंमा अझै ठूलो घटना गराउने षड्यत्र रहेको बताएका हुन्।
'हजारौंको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको कमिटमेन्ट नदेखाइएको भए त्यतिमात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्याउने षड्यन्त्र थियो,' उनले भने।
धेरैले आफूलाई फोन गरेर पनि त्यस्तै भनेको प्रचण्डले बताए।
'मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरुले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरुको योजना र रणनीति यो भन्दा भयानक थियो । त्यस्लाई रोक्यो भन्नुभएको छ भन्नुभयो,' उनले भने।
राजावादी भन्नेहरूका आक्रमणको निशाना नै प्रेस हुने पनि अध्यक्ष प्रचण्डले बताए।
'हिजो राजावादी भन्नेहरुको आक्रमणको निसाना प्रेस नै थियो जसले सत्य तथ्य समाचार समाचार संप्रेसन गरेर जनतामा एउटा नयाँ चेतना अग्रगमन, शान्ति, विकास र स्थिरताको समृद्धिको चेतना फैल्याउँछ त्यही नै निरञ्कुसतावादीको सामन्ती तत्वहरुको निशाना हुने गर्छ हिजोको घटनाले पनि त्यस्लाई प्रष्ट पारेको छ,’ उनले भने।
अध्यक्ष प्रचण्डले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबीच विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको जिकिर गरे।
गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरुले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ। -न्युज एजेन्सी नेपाल