राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्शेर राणा पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छ।
राप्रपा महामन्त्री तथा नवराज सुवेदी नेतृत्वमा रहेको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' का आन्दोलन परिचालन समितिका प्रमुखसमेत रहेका राणा पक्राउको सूचना संसद सचिवालय पुगेको हो।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सांसद राणा पक्राउको सूचना सचिवालयलाई प्राप्त भएको सेतोपाटीलाई जानकारी दिए।
सांसद पक्राउको सूचना आएपछि प्रतिनिधि सभा बैठकमा यसबारे सभामुखले जानकारी दिने प्रचलन छ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ। राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र राणालाई शनिबार भेटेका थिए।
दुर्गा प्रसाईंको आह्वानमा शुक्रबार तीनकुनेमा प्रदर्शन भएको थियो। यो प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वमा रहेको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन गरेको थियो। समितिको सदस्य सचिव मिश्र र आन्दोलन परिचालन समितिमा राणा पनि छन्।
मिश्र र राणाले प्रदर्शनकारीलाई भड्काउन भूमिका खेलेको आरोप छ। यस भूमिकालाई लिएर राप्रपाभित्र कतिपय नेताले आलोचना गरेका छन्।
तीनकुनेमा शुक्रबार दुई जनाको मृत्यु भएको थियो। व्यक्तिगत घरहरूमा तोडफोड र आगजनी भएको थियो। सरकारी गाडी, जडिबुटी कम्पनी र पार्टी कार्यालयहरूमा आगजनी भएको थियो।
राप्रपाले शुक्रबारको घटनाबारे समीक्षा गरी धारणा बनाउन शनिबार अपराह्न ३ बजेका लागि कार्यसम्पादन समिति बैठक पनि बोलाएको छ।