गृहमन्त्री रमेश लेखकले दुर्गा प्रसाईंको खोजी जारी रहेको र चाँडै पक्राउ पर्ने बताएका छन्।
प्रसाईं नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको मागसहित शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र लुटपाट भएको थियो।
तीनकुने क्षेत्रको अवस्था अवलोकन गर्न शनिबार पुगेका गृहमन्त्री लेखकले प्रसाईंको खोजी भइरहेको बताएका हुन्।
प्रसाईं शुक्रबार अपराह्न तीनकुने क्षेत्रबाट गाडीमा चढेर गएका थिए। त्यसपछि उनको फोन अफ छ, उनी सम्पर्कविहीन छन्।
प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टमा तोडफोड र आगजनी गरेका थिए। ती सञ्चार गृहमा पुगेर गृहमन्त्री लेखकले अवलोकनसमेत गरेका छन्।
त्यसपछि पत्रकारहरूले सोधेको प्रश्नमा जबाफ दिँदै गृहमन्त्री लेखकले भने, ‘उहाँ (दुर्गा प्रसाईं) को खोजी भइरहेको छ, चाँडै पक्राउ पर्नुहुन्छ’ भनेका हुन्।
शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शनकारीहरूले निजी घरमा आगजनी गर्दा त्यहाँ जलेर एक जनाको मृत्यु भएको थियो। भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
साथै गोली लागेर कीर्तिपुर नगरपालिका ४ का २९ वर्षीय सविन महर्जनको मृत्यु भएको थियो।
प्रसाईंलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति' ले 'जनकमान्डर' पनि घोषणा गरेको थियो। यो समितिमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि छन्।
मिश्र र राणा पनि शुक्रबार तीनकुने प्रदर्शनमा सहभागी थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।
यो पनि:
तीनकुनेबाट भागेर धर्मगुरू पुस्कर खतिवडाको घर पुगेका थिए दुर्गा प्रसाईं
न्यून सहभागिताबीच यसरी उग्र बन्दै गयो राजावादीको आन्दोलन