राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
शनिबार अपराह्न ३ बजे धुम्बाराहीमा बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
वर्तमान परिस्थितिबारे समीक्षा र पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको उनले बताए।
शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईं नेतृत्वमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो।
उक्त प्रदर्शनमा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणा पनि सहभागी थिए। मिश्र र राणालाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएको थियो।
मिश्र र राणा नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' मा पनि सरिक छन्। प्रसाईंले तीनकुनेमा गरेको कार्यक्रमलाई राप्रपालगायत राजसंस्था पुनर्स्थापनाको एजेन्डा लिएका दलहरूले पनि समर्थन जनाएका थिए।
राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनर्स्थापना आन्दोलन अघि बढाउने निर्णय पनि गरेको थियो। राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णयसमेत गरेको थियो।