राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकले वर्तमान परिस्थितिको समीक्षा गरी पार्टीको धारणा तय गर्ने उनले बताए।
शुक्रबार राजावादीको हिंसात्मक प्रदर्शनले काठमाडौंको तीनकुने क्षेत्र दिनभरि तनावग्रस्त बनेको थियो।
प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।
प्रदर्शनकारीहरूले १४ ठाउँमा आगजनी गरेका थिए भने १५ वटा निजी तथा सरकारी गाडीमा आगजनी गरेका थिए।
राजावादीको प्रदर्शनलाई राप्रपाले पनि समर्थन गरेको थियो।
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र तीनकुने स्थित कार्यक्रमस्थलमा पुगेका थिए। प्रदर्शन चर्किएपछि उनी फर्किएका थिए।
तीनकुने घटनापछि प्रहरीले राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री धवलशमशेर जबरालाई प्रहरीले पक्राउ गरिसकेको छ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा राखिएको छ। प्रहरीले उनीहरूलाई मुद्दा चलाउने तयारी गरेको छ।
ती समग्र परिस्थितिबारे धारणा तय गर्न राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।