शुक्रबार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन गर्ने राजावादी समूहका ‘कमाण्डर’ मेडिकल व्यवसायी दुर्गा प्रसाईं अझै पक्राउ परेका छैनन्।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरासहित पाँच जनालाई प्रहरीले गएराति नै पक्राउ गरे पनि प्रदर्शनका 'कमाण्डर' प्रसाईं भने फरार छन्।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको खोजी गरिरहेको छ। यद्यपि उनी नभेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यका अनुसार प्रसाईंसँगै उनीनिकटका मानिसहरू पनि मोबाइल अफ गरेर फरार छन्।
शुक्रबार निषेधित क्षेत्रतर्फ प्रदर्शनकारीहरूलाई आउन नदिनका लागि तैनाथ भएको प्रहरीलाई नै किचुँला झै गरी प्रसाईंले गाडी हुइँकाएपछि प्रदर्शनकारीहरू उग्र बनेका थिए।
प्रसाईंले चलाएका गाडीभित्रबाट भिडिओ खिच्ने युट्युबर पनि मोबाइल स्वीच अफ गरी फरार रहेको एसपी आचार्यले जानकारी दिए।
तीनकुनेको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने ११० जना सुरक्षाकर्मी घाइते भएका थिए। १४ ठाउँमा आगजनीका घटना र निजी तथा सरकारी गरी १५ गाडी जलाएका थिए।
परिस्थितीलाई मत्थर बनाउन काठमाडौं प्रशासनले अपराह्नदेखि कर्फ्यु आदेश जारी गरेको थियो। साँझदेखि प्रसाईंको खोजी सुरू गरेको थियो। प्रसाईं भने मोबाइल अफ गरेर भागेको एक प्रहरीले बताएका छन्।
यो पनिः तीनकुनेमा प्रहरीको भिडलाई पेलेर गाडी हुइँक्याए दुर्गा प्रसाईंले (भिडिओ)
उनको खोजीको क्रममा प्रहरीले उनको घर निगरानी गरेको थियो।
केन्द्रीय प्रवक्ता डिआइजी आचार्यका अनुसार परिवारका अरू सदस्यहरु पनि फोन स्वीच अफ गरी सम्पर्कबिहीन भएका छन्।
'उनी मोबाइल अफ नै गरेर बसेका छन्। तर धेरै टाढा गएका छैनन् कि भन्ने छ,' उनले भने, 'सुरूमै घरमा प्रहरीको निगरानी हुने भयो। अन्त पनि सम्भावित ठाउँहरूमा खोजी भइरहेको छ,' शुक्रबार एक प्रहरीले सेतोपाटीलाई भनेका थिए।
उनको अन्तिम लोकेशन गैरीगाउँ देखिएको थियो।
प्रसाईंलाई ज्यान मार्ने उद्योग, हिंसात्मक गतिविधि, आगजनी र सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलाउन मिल्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।
उनको खोजीका लागि काठमाडौं र आसपासका तीनै जिल्लामा प्रहरी परिचालन भएका छन्।
पक्राउ परेका राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित पाँच जना काठमाडौं प्रहरी परिसरको नियन्त्रणमा छन्। उनीहरुलाई कुन-कुन मुद्दा लगाउने भन्नेबारे छलफल भइरहेको एसपी बोहराले जानकारी दिएका छन्।