नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले शुक्रबारको प्रदर्शनले राजावादी उदांगिएको बताएका छन्।
उनले शनिबार समाजिक सञ्जालमार्फत् व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरूले आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्नेमा त्यसमा राजावादीहरू पूर्णतः असफल भएको बताएका हुन्।
`हिजो एकै दिन राजधानीमा दुईवटा जनप्रदर्शन भए। विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागीता रह्यो। कार्यक्रम शान्त, मर्यादित र सन्देश मुलुक रह्यो। राजावादीहरुको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रह्यो। व्यवस्थाको विकल्प दिन्छौ भन्नेहरूले आन्दोलनका माध्यमवाट अपिल गर्न र सन्देश दिन सक्नु पर्दछ। त्यसमा राजावादीहरु पूर्णतःअसफल भए। बरु उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरंकुशता र दमन व्यहोर्न नपरेको नयाँ पुस्तालाई त्यसबारे थोरै भए पनि वुझ्ने मौका मिल्यो,´ उनले भनेका छन्।
उनले आजको युग जनचेतनाले लैस भएको लोकतन्त्रको युग भएको बताउँदै कसैको निहीत स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुदैन भन्ने सन्देश पुनः दिनुपर्ने भएको बताएका छन्।
`हिजोको घटनामा जीवन गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धान्जलि! घाइते सबैको शीघ्र स्वास्थ लाभको कामना! सुरक्षा निकायको संयमताले राजावादीहरुको असलियत उदांगिएको छ। आन्दोलनका नाममा नियोजित रूपमा परिचालित अपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटवाट पीडित भएकाहरुलाई राज्यका तर्फवाट यथोचित सम्बोधन आवश्यक छ,´ उनले भनेका छन्।
उनले जनतालाई आतंकित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई अविलम्ब कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताएका छन्।