गृहमन्त्री रमेश लेखक शुक्रबार राजावादीले तोडफोड, आगजनी गरेका स्थलहरू अवलोकनका लागि निस्कँदैछन्।
गृहमन्त्री लेखक अहिले ९ बजे राजावादीहरूले विध्वंस मच्चाएको तीनकुने, सिनामंगल, जडिबुटी, बालकुमारी आसपासका क्षेत्र अवलोकनका लागि निस्कन लागेको उनको सचिवालयले जनाएको छ।
राजावादीहरूले शुक्रबार राजसंस्था फर्काउन हिंसात्मक प्रदर्शन गर्दा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारी कीर्तिपुर-४ का सविन महर्जन प्रहरी गोली लागि मारिएका थिए।
राजावादीले निजी घरमा लगाएको आगोमा परी एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।
राजावादीहरूले सार्वजनिक र निजी गरी १५ वटा सवारीसाधन जलाएका थिए।
तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्टको कार्यालय तोडफोड आगजनी गरेका थिए। त्यस्तै एकीकृत समाजवादीको कार्यालय आगजनी गरेका थिए।
हिंसात्मक प्रदर्शन गरिरहेका राजावादीले सरकारी स्वामित्वको कोटेश्वरको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा आगो लगाएर ध्वस्त बनाएका थिए।