गृहमन्त्री रमेश लेखकले शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन 'अराजनीतिक' भएको भन्दै यसलाई आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने बताएका छन्।
शुक्रबार राति १० बजे बसेको मन्त्रिपरिषद बैठकपछि सेतोपाटीसँग कुरा गर्दै मन्त्री लेखकले 'मानिसलाई आगो लगाएर मार्ने घटनालाई राजनीतिक घटनाका रूपमा लिन नसकिने' बताए।
'पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरूले आज जे काम गरे, त्यसको राजनीतिक चेतना, सिद्धान्त, आदर्श र मान्यतासँग कुनै सम्बन्ध र साइनो छैन,' गृहमन्त्री लेखकले भने, 'यो नितान्त आपराधिक, बर्बरतापूर्ण, अमानवीय र अमर्यादित आपराधिक घटना हो।'
उनले राजावादी समूहले मानिसको सम्पत्ति लुट्ने र घरभित्र मान्छे छ भन्ने थाहा भएकै अवस्थामा आगो लगाउने अमानवीय कार्य गरेको बताए।
'मानिसको सम्पत्ति लुट्ने, घरभित्र मान्छे छ भन्ने थाहा भए पनि आगो लगाइदिने, पोलेर मारिदिने, पार्टी कार्यालय र सञ्चार गृहहरूमा आक्रमण गर्ने काम भएका छन्। यी आपराधिक गतिविधि हुन्। हामी त्यही ढंगले प्रस्तुत हुन्छौं,' लेखकले भने, 'यो पूर्णतया आपराधिक घटना हो। यसमा कुनै राजनीतिक विषयको सम्बन्ध छैन। मानिसको घरमा आगो लगाउने काम कसरी राजनीतिक हुन्छ? आगो लगाएर मान्छे मार्ने काम कसरी राजनीतिक हुन्छ? यो आपराधिक कार्य हो।'
गृहमन्त्री लेखेकले प्रहरीले अनुसन्धानमा देखिएअनुसार थप व्यक्तिहरूमाथि अनुसन्धान गर्ने बताएका छन्।
सरकारले तीनकुनेको घटनालाई आपराधिक गतिविधिका रूपमा लिने निर्णय गरेसँगै राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबरा, नेता रवीन्द्र मिश्र पक्राउ परेका छन्। तीनकुने घटनामा संलग्न अन्यको पनि प्रहरीले खोजी गरिराखेको जनाएको छ।
त्यस्तै, राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ, शुक्रबार तीनकुनेमा भएको घटनाले हिंसात्मक रूप लिएपछि संयोजक सुवेदीलाई प्रहरीले कुमारीगालस्थित घरमै राखेर निगरानी गरेको हो। शुक्रबारको प्रदर्शनमा बल प्रयोग भएपछि उनी प्रदर्शन स्थलबाट निस्किएका थिए।