राजसंस्था पुनर्स्थापनका लागि संयुक्त जनआन्दोलन निर्देशन समितिका संयोजक नवराज सुवेदीलाई प्रहरीले घरभित्रै निगरानीमा राखेको छ।
शुक्रबार तीनकुनेमा भएको घटनाले हिंसात्मक रूप लिएपछि संयोजक सुवेदीलाई प्रहरीले कुमारीगालस्थित घरमै राखेर निगरानी गरेको हो।
डिआइजी दिनेश आचार्यले घटनाको पुष्टि गरेका हुन्। ‘नजरबन्द भन्दा पनि उहाँका मुभमेन्टहरू थप नहोस् भन्ने हिसाबले घरमै निगरानीमा राखेका हौं,’ उनले भने।
शुक्रबारको प्रदर्शनमा बल प्रयोग भएपछि उनी प्रदर्शन स्थलबाट निस्किएका थिए। साँझ उनले सेतोपाटीसँग कुरा गर्दै आन्दोलनको अपनत्व लिने बताएका थिए।
आफू आन्दोलनको मूल नेतृत्व र दुर्गा प्रसाईं आजको फिल्ड कमान्डर मात्रै भएको उनको भनाइ थियो।
प्रहरीले अहिलेसम्म पाँच जनालाई पक्राउ गरिसकेको छ। रवीन्द्र मिश्र, धवल शमशेर, स्वागत नेपालसहित पाँच जनालाई पक्राउ गरेको हो।