मन्त्रिपरिषदको शुक्रबार राति बसेको आकस्मिक बैठकले आज भएको हिंसात्मक घटनाको छानबिन गर्ने निर्णय गरेको छ।
राजावादीहरूबाट शुक्रबार आयोजित क्रममा भएको हिंसात्मक घटना, लुटपाट, तोडफोड र आगजानीका घटनाको निन्दा गर्दै त्यससम्बन्धी सत्यतथ्य छानबिन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
यो घटनामा संलग्नहरूलाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ।
त्यस्तै, शुक्रबारको घटनामा घाइते भएकाहरूको नि:शुल्क उपचार गर्ने निर्णय पनि गरिएको छ।
काठमाडौंको तीनकुनेमा शुक्रबार आयोजित राजावादीहरूको प्रदर्शनले हिंसात्मक रूप लिएपछि उत्पन्न घटनाक्रमबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद बैठक बसेको हो।