नेपाली कांग्रेसले शुक्रबार काठमाडौंमा भएको तोडफोड, हिंसा र अराजकताको निन्दा गरेको छ।
शुक्रबार साँझ पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आग्रह गरेका हुन्।
उनीहरूले संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई कांग्रेसले सदैव सम्मान गर्ने भए पनि शुक्रबारको शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटना अत्यन्तै निन्दनीय भएको बताएका छन्।
'व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,' विज्ञप्तिमा भनिएको छ।
त्यस्तै कांग्रेस हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ।
कांग्रेसले घाइतेहरूको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन, हिंसा भड्काउने र हिंसामा सामेल व्यक्तिहरूलाई अविलम्ब कडा कानुनी कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गरेको छ।
हेर्नुस् नेपाली कांग्रेसको विज्ञप्तिः
तोडफोड, हिंसा र अराजकताको निन्दा गरौं
– शान्ति र संविधानकै मार्गबाट अघि बढौं –
संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्छ। तर आज राजधानीको तीनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ। व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।
लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधि सभा पुनर्स्थापित गरेको थियो। संसद मार्फत अन्तरिम संविधान हुँदै संविधान सभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरूको संविधान सभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो। यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं।
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट सम्भव छ। नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं। हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं। नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ। लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन। नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्छ।
आजको हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउने प्रति नेपाली कांग्रेस गहिरो श्रद्धाञ्जली व्यक्त गर्छ। घाइतेहरुको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गर्दै, हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्छ।
साथै, समस्त नेपाली दिदीबहिनी दाजुभाइमा संयम र एकताका लागि नेपाली कांग्रेस अपील गर्छ।
जय नेपाल!
– महामन्त्रीहरूः गगन थापा र विश्वप्रकाश शर्मा