नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरूको संज्ञा दिएका छन्।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रबार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशतावादीहरूको प्रतीकजस्तो बनेको टिप्पणी गरे।
उनले घरमा आगो र प्रहरमिाथि समेत ढुंगा प्रहार गरेकोप्रति आपत्ति जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए।
उहाँले आतंक फैलाउनु राजावादीहरूको चरित्र भएको तर्क गरे।
उनले भने, ‘कुकुरको पुच्छर १२ वर्ष ढुंग्रोमा राखे पनि बाङ्गाको बाङ्गै भनेजस्तै अहिले त्यहाँको सभा मण्डले अराजकताको पराकाष्ठ भएको छ। तीनकुने अहिले मण्डले अराजकताको। सबै प्रतिगामी, निरङ्कुशतावादीहरूको एउटा प्रतीक जस्तो बनेर देखिएको छ। त्यहाँ घरमा आगो लगाएका छन् मण्डलेहरूले, त्यहाँ पुलिसमाथि ढुङ्गा प्रहार गरेका मण्डलेहरूले। एकदुई जना मरून् र देशभर आतंक फैलियोस् भन्ने चाहेका छन् त्यो राजावादीहरूको चरित्र हो। हामी लाखको वरिपरि जम्मा छौं। त्यसकारण आजै तुलना गर्नुस् गणतन्त्रवादीहरूको चरित्र र राजावादी मण्डलेहरूको चरित्र आजै चैत्र १५ गते सम्पूर्ण नेपाली जनताले देख्नेगरी र बुझ्नेगरी काठमाडौंमा प्रदर्शित भयो।’