एभिन्यूज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले प्रहरीलाई समयमै खबर गरे पनि आगलागीमा परेका आफ्नो टेलिभिजिनका पत्रकारको उद्धार हुन नसकेको बताएका छन्।
शुक्रबार राजावादी आन्दोलनका 'कमाण्डर' मेडकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तीनकुनेको एक भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका थिए। आगोमा परेर एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको थियो।
‘हाम्रो क्यामेरा पर्सन सुरेश रजक दिउँसो करिब ३ बजेर १७ मिनेटमा आगो लगाइएको भवनमा हुनुहुन्थ्यो। सबैजना त्यहाँबाट लाइभ गरिरहेका थिए। ऊ त्यहाँ फसेको रहेछ’, टेलभिजन सञ्चालक कर्णिकारले सेतोपाटीसँग भने, ‘हामीले ३ बजेदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरी र सिडिओलाई फोन गर्यौं, रेस्पोन्स भएन। सशस्त्र प्रहरीले त्यहाँ कोही पनि छैन भनेर हामीलाई जान पनि दिएन।’
पत्रकारले काम गर्दा गर्दै ज्यान गुमाउनुपर्ने अवस्था आएको उनले बताए।
‘हाम्रा सहकर्मी जलिरहेको प्रत्यक्ष प्रशारण गरिरह्यौं, हामीले केही गर्न सकेनौं’, कर्णिकारले भने, ‘राज्य संरचना सिध्धिएको छ। पत्रकारले काम गर्दा गर्दै सिध्दिनुपर्ने अवस्था आएको छ।’
कर्णिकारले आगलागी भएको ठाउँमा भएका अन्य पत्रकारहरूले भवनभित्र रजक रहेको जानकारी दिएको तर उद्धार हुन नसकेको बताए।
‘अरू साथीहरूले हाम्रो सहकर्मी भित्र छ, निकाल्दिनुहोस् भन्दा सशस्त्र प्रहरीले कोही पनि छैन। हामीले हेरेर आइसक्यौँ भन्यो,’ कर्णिकारले भने, ‘दमकल १ घण्टापछि आयो। त्यसपछि अर्को दमकल आएन।’
दमकल आए पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।