पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार–प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन्।
लुम्बिनीमा निर्माण हुने थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करूणा, र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गरिन्।
‘गौतम बुद्धले अहिंसा, करूणा, र शान्तिको मार्ग देखाउनुभयो। उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेका छन् तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ।’
लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखिन्।
बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताइन्।
पूर्वराष्ट्रपति भण्डारी बिहीबारदेखि धार्मिक तथा सामाजिक भ्रमण र भेटघाटका लागि रूपन्देहीमा छिन्।
सोही अवसरमा शुक्रबार लुम्बिनीस्थित थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गरिएकी हुन्।
थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बा धर्मचक्र महाविहार मञ्जुश्री पर्वत, कान्तिपुरको आयोजनामा निर्माण हुन लागेको हो।
पूर्वराष्ट्रपति भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए।
लुम्बिनीको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिनुपर्ने बताए।
‘तीन तहका सरकारबीच समन्वय र सहकार्य भएमा लुम्बिनीको विकासले गति लिने थियो, उनले भने, ‘संघीय सरकारले यसमा विशेष ध्यान दिन जरूरी छ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्ने भन्दै गुम्बा निर्माणका नाममा जग्गा रोकिराख्ने वा अधुरो छाड्ने जस्ता प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए।
लुम्बिनी विकास गुरुयोजना भित्र विभिन्न गुम्बा, मोनाष्ट्रि निर्माणका लागि ४२ वटा प्लट निर्धारण गरिएका छन्। बुद्धको शान्ति र ज्ञान फैलाउन लुम्बिनीमा निर्माण हुने गुम्बाहरूले महत्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री आचार्यले बताए।