काठमाडौं महानगरपालिकाको अनुगमन समितिले वडा नम्बर–१५ को किमडोलमा निर्माण हुँदै गरेको धर्मकिर्त विहारको स्वामित्वमा भएको बुद्धिष्ट एजुकेशन भवनको काम रोक्न निर्देशन दिएको छ।
सम्झौता अनुसार काम नभएको भन्दै निरीक्षणछि अनुगमन समितिका संयोजक उपप्रमुख सुनिता डंगोलले भवन निर्माणको काम रोक्न निर्देशन दिएकी हुन्।
‘भवन निर्माणका क्रममा भर्याङ नमिलेकाले भत्काउनु पर्ने अवस्था देखियो। त्यसैगरी फर्मामुनि इँट्टा राख्ने लगायत काममा पनि लापरवाही भएको पाइयो,’ उपप्रमुख डंगोलले भनिन्, ‘अनुगमन गर्दा काम सन्तोषजनक नदेखिएपछि अर्को पटक काम सुरू गर्नुभन्दा अगाडि पुनः अनुगमन गर्ने र त्यसपछि मात्रै भवन निर्माणको काम थाल्ने भनेर निर्देशन दिएका छौं।’
यस्तै सम्झौता अनुसार सबै कामहरू सुधार नगरेसम्म रकम निकासा नगर्ने पनि उनले बताइन्।
ढलान गरेको ठाउँमा पानी हाल्ने लगायतका काममा समेत लापरबाही भएको पाइएको उनको भनाइ छ।
सुपरभिजन गर्ने आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियरले पटक–पटक मौखिक निर्देशन तथा सुझाव दिदा समेत सो बमोजिमको कार्य नगरेको भनिएकोले अव उप्राप्त फोकल पर्सन, आर्किटेक इन्जिनियर र सिभिल इन्जिनियर मार्फत् सम्बन्धित विभागबाट लिखित स्वीकृति नगरी कुनै काम अगाडि नबढाउन पनि निर्देशन दिएको छ ।
शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पनि सम्झौता अनुसार काम नभएकाले निर्माणमा रोक लगाएको बताए।
उक्त भवनको निर्माण लागत भ्याटबाहेक ५६ लाख ५८ हजार ३७२ रुपैयाँ रहेको छ।