राष्ट्रिय सभामा पनि नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले अवरोध गरेका छन्। जसका कारण बैठक चल्न सकेन र एक घन्टाका लागि स्थगित भएको छ।
बैठकमा विपक्षी दलका सांसद नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुसालले सरकारले कुलमान घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जबाफ माग गरेका थिए।
त्यसपछि विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए।
त्यसबीच नेपाली कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले बोल्न समय मागेका थिए। अध्यक्ष नारायणप्रसाद दाहालले संक्षिप्त बोल्न भन्दै समय दिए।
राष्ट्रिय सभामा बुधबार र बिहीबार विपक्षी दलहरूले गरेको अवरोधलाई लक्ष्य गर्दै सिटौलाले यसका कारण अध्यादेश प्रतिस्थापन विधेयकमाथिको छलफल प्रभावित बनेको बताए।
प्रतिनिधि सभाबाट पारित भइ राष्ट्रिय सभामा आएका अध्यादेश प्रतिस्थापन विधेयकलाई अवरोध गर्ने गरी विपक्षीले अवरोध जारी राखेको संकेत सिटौलाको थियो।
अध्यादेश दुवै सदनबाट स्वीकार भएको र त्यसको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा आएको र छलफल चलिरहेका बेला ६० दिन क्रस गर्ने गरी प्रतिपक्षीले अवरोध कायम राख्न खोजेको सिटौलाको संकेत थियो।
‘प्रतिस्थापन विधेयक प्रमाणीकरण नहुने अवस्थामा पुग्न दिनु हुँदैन, राष्ट्रिय सभाले,’ उनले भने, ‘यो सरकारको निजी विषय बन्दैन अब, राष्ट्रिय सभाको साझा विषय हो। यसको प्रक्रिया रोकेर ६० दिन क्रस हुने गरी राष्ट्रिय सभा गयो भनेदेखि हामीले आफ्नो दायित्व निर्वाह नगरेको ठहर्छ।’