पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीतिले आरोहण गरिरहेको र न्याय सुस्ताएको जिकिर गरे।
उनले यसमा व्यापक परिवर्तन हुन जरूरी रहेको बताए।
आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै संक्रमणकालीन न्यायको सम्बोधन नहुने बताए।
उनले एउटा सक्षम, स्वीकार्य, जनताले मानेको क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग बनाउन जरूरी रहेको बताए।
राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित हुनुपर्ने बताए।
उनले भने, ‘संक्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो। यो परिस्थितिमा व्यापक रूपमा परिवर्तन हुनुपर्छ। आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब संक्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन। यो मिनिमम काम हो। यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ। सन्तोष मान्नुपर्ने अवस्था हो र? एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वासनीय आयोग खोज्नुपर्छ। आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो भने यी प्रक्रिया निरर्थक हुनेछन्। यस्तो नहोस्। राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस्। राजनीतिकर्मीले राजनीति गर्नुपर्छ। तर न्यायमा राजनीति नगर्नुहोला। पीडितको पीडाले पोलिरहेको ठाउँमा राजनीति नगर्नुहोस्।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संक्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्ने भन्दै चलखेल नगर्ने इमानदारिता आवश्यक रहेको बताए। —न्युज एजेन्सी नेपाल