प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ब्यहोरेको हिंसाको महिमामंडन भएको भन्दै त्यसबारेमा असन्तुष्टि जनाएका छन्।
बिहीबार सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले हजारौैं मानिसहरूको मृत्यु भएको, हजारौं घाइते, बेपत्ता, अंगभंग भएको विषयमा अहिले पनि बाजा बजाउने र छुट्टी मनाउने कुरा भइरहेकोप्रति प्रश्न गरेका हुन्।
'हजारौंको संख्यामा मान्छेको पीडा छ। आँशु छ। हजारौंको संख्यामा ज्यान गयौ, अंगभए भए, टुहुराटुहुरी भए, अहिले पनि अपांगताको स्थिति ब्यहोर्नुपरेको छ। एउटा क्रन्दन छ,' प्रधानमन्त्री ओलीले भने, ' त्यसमा मल्हम लगाउनुपर्ने ठाउँमा किन ग्लोरिफाइ गरिराखेका छौं? उधुम गरेका छौं । राम्रो गरेका थियौं हामीले भन्ने ? यही हो राम्रो?'
उनले त्यो बेठिक भएकै कारण नेपाल शान्ति प्रक्रियामा आएको बताए।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तर्फ संकेत गर्दै भ्रममा नपर्न आग्रह गरे।
'आफ्नै काम पनि बेठिक भयो भने हिजो बेठिक गरिएछ भनेर जनताका अगाडि आत्माआलोचक भएर पेश हुन सक्नुपर्छ। त्यो एउटा राष्ट्रिय गल्ती थियो। त्रुटी थियो। असामयिक कुरा थियो। त्यसलाई सच्याउन पर्दछ,' उनले भने।
अब उपरान्त यस्तो नहुने कुरामा प्रतिबद्ध हुनुपर्नेमा पनि प्रधानमन्त्री ओलीले जोड दिए।
'अलिकति रिस उठ्यो भने फेरि…फेरि.. जाउँ त! यस्तो खालको हुनु हुँदैन। कुनै ख्याल ख्यालमा भन्ने कुरा होइन। बिसाएका हौं छाडेका छैनौं। त्यस्ता कुराहरूले। विगतमा यही मनोदशाका कारण पनि बिलम्ब भएका होलान्। यो मनोदशा त्याग्नुपर्छ।'