नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया टुंग्याउनुपर्ने कुरामा राजनीतिक दलहरुबीच विवाद नरहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको शान्ति प्रक्रिया केही मौलिक ढंगले अघि बढेको बताए।
उनले टिआरसी र ट्रान्जिसनल जस्टिससँग सम्बन्धित कुरामा पीडितहरुलाई सम्बोधन गर्नेकुरालाई उच्च प्राथमिकतामा राख्नुपर्छ भन्नेकुरालाई पनि राजनीतिक नेतृत्व तहमा विवाद नरहेको जिकिर गरे।
' हामी राजनीतिक नेतृत्व मुलतः पीडितलाई न्याय दिनेकुरालाई प्राथमिकता दिएर मात्रै अन्ततः शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्नेकुरामा हामी कन्फ्युजनमा कहिल्यै भएनौं,' उनले भने।
उनले सत्तापक्ष र विपक्षबीच अरू कुरामा विवाद रहे पनि संक्रमणकालीन न्यायको विषयमा विवाद नरहेको बताए।
'विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ । थुप्रै कुरा छ । यी तमाम विवाद र बिमतिको बीचमा पनि शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने कुरामा इन् प्रिन्सिपल हामी कहिल्यै विवादमा भएनौँ । कहिले प्राविधिक, कहिले कानूनी, कहिले राजनीतकि उत्तारचढावहरुले यो देशमा हुन्छन्, त्यसकारणले ढिला भयो । तर यिसँग सम्बन्धित प्रिन्सिपलमा विवाद भएको हुनाले डिले भएको भन्न मिल्दैन, त्यो होइन,’ उनले भने।