विपक्षी दलहरूले विहीबार पनि संसद बैठकमा विरोध जारी राख्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले विरोध यथावत रहने जानकारी दिए।
'हामीले आज मात्रै गरेको विषयवस्तु होइन। फागुनदेखि नै सबेै प्रतिपक्षी एक भएर ठीक भएन भनिरहेका थियौं। सरकारले प्रतिपक्षीको माग बेवास्ता गरेपछि ल्याएको कुरा न हो यो। आजमात्रै आएको विषय होइन। त्यसकारण यसमा हामी दृढ भनाइ छ,' उनले भने।
प्रमुख सचेतक यसअघि सरकारका तर्फबाट सम्बन्धित मन्त्रीले जबाफ दिएपनि जबाफ चित्तबुझ्दो नभएको बताए।
'विभागीय मन्त्रीले लोडसेडिङ अन्त्य भएको त भारतले पो हो भन्नुभयो। उसलाई धन्यवाद दिनुपर्छ भन्नुभयो, हाम्रो चित्त बुझेन त्यसकारण सरकारलाई प्रष्ट पार्न भनेका हौं,' उनले भने।
बुधबारको विरोध पनि राप्रपाबाहेक सबै विपक्षी दलहरु बैठक बसेर निर्णयपछि गरिएको उनले बताए। बिहीबार पनि सबै विपक्षी दलहरू एक भएर विरोध जारी राख्ने उनले बताए।
अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि बिहीबारको बैठकमा पनि विरोध जारी रहने बताए।
'विपक्षीले माग गरेको विषयमा सरकारले जबाफ नदिएसम्म विरोध जारी रहन्छ उनले भने,' उनले भने।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णयबारे सरकारसँग जबाफ माग्दै संसदका सबै विपक्षी दलहरूको विरोध जनाएका थिए।
उनीहरूले 'जलमाफिया'हरूलाई स्वार्थ पूरा गर्नका लागि सरकारले कुलमानलाई बर्खास्त गरेको आरोप लगाउँदै त्यसबारेमा प्रधानमन्त्रीले सदनलाई जबाफ नदिएसम्म बैठक चल्न नदिने बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दिउँसो युवा संघको कार्यक्रममा संसदको विरोधमा लक्ष्य गर्दै जबाफ दिन आवश्यक नरहेको बताएका थिए।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको मूल्यांकन जनताले गर्ने बताए।