प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ।
बुधबार दिउँसो ३ बजे बसेको दोस्रोपटकको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक भोलिसम्मका लागि स्थगित भएको हो।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जबाफ दिनुपर्ने माग राख्दै विपक्षी दलका सबै सांसदहरू कुर्सीबाट उठेर विरोध जनाएका थिए।
बिहान ११ बजे बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतलाई समय दिएका थिए।
उनले सरकारले विचौलियालाई फाइदा पुर्याउनका लागि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आरोप लगाएका थिए।
त्यस विषयमा प्रधानमन्त्री आफै संसदमा उपस्थित भएर जबाफ नदिएसम्म सदनको काम कारबाही अगाडि नबढ्ने बताए।
त्यसपछि सभामुख घिमिरेले आधा घन्टा बैठक स्थगित गरेर छलफल गरेका थिए। दिउँसो ३ बजे बसेको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।