सिराहाको नवराजपुर गाउँपालिका भगवतीपुरकी रिंकुकुमारी सदायमाथिको जबरजस्ती करणी मुद्दामा मिलापत्र गरेको, जातीय छुवाछुत तथा भेदभाव र आतहत्या दुरूत्साहन मुद्दामा वडासदस्य नथुनी साह कारगार चलान भएका छन्।
बुधबार जिल्ला अदालत सिराहाका प्रमुख जिल्ला न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार निरज पोखरेलले जानकारी दिए।
घटनामा जिल्ला सरकारी वकिल कार्यालयले दुई वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो।
नाबालक तीन जनाविरूद्ध अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी र जबर्जस्ती करणी मुद्दामा मिलापत्र गरेको, जातीय छुवाछुत तथा भेदभाव र आत्महत्या दुरूत्साहन मुद्दा दायर गरेको थियो।
स्रेस्तेदार पोखरेलका अनुसार उक्त मुद्दामा मुख्य आरोपी भनिने नाबालकलाई संरक्षकको जिम्मा लगाउने आदेश भएको छ। सोही मुद्दामा फरार भएका दुई नाबालकलाई कानुनबमोजिमको म्याद जारी गर्न आदेश भएको छ।
रिंकु सदायमाथि बलात्कार भएको भन्ने सार्वजनिक भएपछि पञ्चायत बसेर मिलाउने खोज्नेहरूलाई जबर्जस्ती करणी मुद्दामा मिलापत्र गरेको, जातीय छुवाछुत तथा भेदभाव र आत्महत्या दुरूत्साहन सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
१७ जनामध्ये ७ जनालाई फरार सूचीमा राखेर मुद्दा दायर भएकोमा ६ जनासँग जनही डेढ लाख रूपैयाँ धरौटी माग भएको छ।
रामकृपाल मण्डल, बिन्देश्वर साह, रामदेव सदा, सांकेतिक नाम ०८१ लाहान ण३, सांकेतिक नाम ०८१ लाहान ण ११, कारी भनिने करिया मुसहलाई जनही १ लाख ५० हजार धरौटी माग गरिको स्रेस्तेदार पोखरेलले जानकारी दिए।
रामविनोद मण्डल र कमलेशकुमार दासलाई साधारण तारेखमा छाड्न आदेश भएको स्रेस्तेदार पोखरेलले जानकारी दिए।
घटनापछि रामपुकार मण्डल, बौका डाक्टर भन्ने रामनारायण दास तत्मा, किसुनदेव दास तत्मा, रामसेवक शाह, रामपृत साहु तेली, भागत सदायसहित थप एक जना फरार छन्।
माघ २७ गते शौचालय जान भनेर निस्किएकी रिंकुकुमारी २८ गते बिहान ३ बजेमात्र घर फर्किएकी थिइन्। उनीमाथि बलात्कार भएको खुलेपछि भोलिपल्टै पञ्चायत बसेर बलात्कारको घटना मिलाउन पैसाको बार्गेनिङ भएको खुलेको थियो।
यो पनिः रिंकु सदाय मृत्यु पक्ररण: त्यस दिन के भएको थियो पञ्चायतमा?
सिराहाकी रिंकु सदाय मृत फेला परेको प्रकरण के हो?