सत्ता गठबन्धन दलहरूको बैठकले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय पारेर विधेयकका रूपमा ल्याउने सहमति गरेको छ।
सरकारले भूमिसहित ६ वटा अध्यादेश ल्याएकोमा अरू अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएका थिए। तर भूमि अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिएको थिएन।
राष्ट्रिय सभामा ३ सांसद रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले भूमि अध्यादेशमा सहयोग गर्न नसक्ने अडान राखेपछि सरकारले भूमि अध्यादेश सदनमा निर्णयार्थ पेस नै गरेको थिएन।
बुधबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच भूमि अध्यादेश के गर्ने भन्नेबारे कुराकानी भएको थियो।
जसपा नेपालबाहेकले भूमि अध्यादेश पनि अघि बढाउनुपर्ने धारणा राखे पनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सहयोग गर्न नसकिने बताएका थिए।
त्यसपछि भूमि अध्यादेश निष्क्रिय पार्ने र त्यसलाई विधेयकका रूपमा ल्याउने सहमति गर्दै बैठक सकिएको छ।
जसपा नेपालका सांसद राजकिशोर यादवले भूमिसम्बन्धी अध्यादेश निष्क्रिय हुने र सरकारले विधेयक ल्याउने सहमति जुटेको सेतोपाटीलाई जानकारी दिए।
‘भूमि अध्यादेश आएको चैत १८ गते ६० दिन पुग्दैछ, ६० दिनभित्र अध्यादेश सदनमा पेस नभए निष्क्रिय भइहाल्छ,’ उनले भने, ‘अब भूमि अध्यादेश निष्क्रिय हुन्छ, सरकारले सबैसँग छलफल गरेर भूमिसम्बन्धी विधेयक ल्याउने कुरा छ।’
जसपा नेपालले उठाउँदै आएका विषयवस्तुसमेत समेट्ने गरी सरकारले भूमि विधेयक बनाउने पनि उनको भनाइ थियो।
छलफलमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरू सहभागी थिए।
भूमिसम्बन्धी अध्यादेश मन्त्रिपरिषदले राष्ट्रपतिकहाँ पठाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले पनि अध्ययनका लागि केही दिन 'होल्ड' गरेका थिए।
प्रधानमन्त्रीले सच्याउने प्रतिबद्धता जनाएको उल्लेख गर्दै केही दिनपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका थिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि भूमिसम्बन्धी विधेयक ल्याउने सहमति जुटेको जानकारी दिए।
‘चैत १८ गतेबाट भूमि अध्यादेश स्वत: निष्क्रिय हुन्छ,’ उनले भने, ‘अब विधेयक ल्याउने सहमति बनेको छ। भूमिसम्बन्धी अध्यादेशमा जसपा र लोसपाका केही आशंका थिए तर प्रधानमन्त्रीले स्पष्ट गर्नुभएको छ, अब आउने विधेयकमा उहाँहरूका कुरा सम्बोधन हुनेछ।’