प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले सरकारले जल माफियाहरूको स्वार्थ पूरा गर्न विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त गरेको बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी दलहरूका तर्फबाट बोल्दै सांसद बस्नेतले सरकारले एक जना राष्ट्रसेवकको मानमर्दन र अपमानित गर्न सार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो दुई तिहाइको सामर्थ्य प्रस्तुत गरिराखेको बताए।
‘लोकतन्त्रमा संख्या महत्त्वपूर्ण कुरा हो। संख्याको पहाड जनचाहना सामू गल्र्यामगुर्लुम ढलेका इतिहास र अनुभवहरू हाम्रा वरिपरि छन्। सरकारले दुई तिहाइको सामर्थ्य एकजना राष्ट्रसेवकको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थालाई तेजोबध गर्नका लागि आफ्नो सामर्थ्य प्रस्तुत गरिराखेको छ,’ उनले भने।
कुलमान घिसिङलाई स्पष्टीकरणको नौटंकी प्रदर्शन गर्दै सरकारले आफ्ना गलत कर्तुत ढाकछोप गर्न खोजिराखेको बताए।
‘कुलमान घिसिङको बर्खासी बक्यौता उठाउन नदिने, जलमाफियाहरूको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई बिचौलियाको हातमा सुम्पने यिनै र यस्तै उद्देश्यमा आधारित छ,’ उनले भने।
उनले सरकार सर्वसत्तावादतर्फ अघि बढेको पनि बताए।
‘सरकार स्वार्थ समूहहरूको पृष्ठपोषण र वैशाखीमा निर्मित भएको कारणले, स्वार्थ समूहहरू र बिचौलियाहरूको स्वार्थ र हितको रक्षा गर्नु सरकारको नियत र नियति बनिरहेको छ,’ उनले भने।
प्रमुख प्रतिपक्षी लगायत विपक्षी दलले घिसिङ बर्खासीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई जानकारी नगराएसम्म सदन चल्न नदिने बताएका छन्।