नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले कबाड व्यवसायीहरूले भोग्नुपरेका समस्या आपसी छलफल र समझदारी निर्माण गरेर हल गरिनुपर्ने बताएका छन्।
कबाड संकलन तथा व्यवसायसँग सम्बन्धित माग राखेर आन्दोलनरत कबाड व्यवसायी संघर्ष समितिका प्रतिनिधिहरूसँगको भेटमा अध्यक्ष प्रचण्डले समस्या समाधानका लागि सहमतिमा जानुपर्नेमा जोड दिएका हुन्।
‘कबाड व्यवसायीहरूका मागमा आपसी छलफल गरेर एउटा समझदारीमा पुगेर व्यवसाय गर्ने सहज वातावरण बनाउनु जरूरी छ। संकलन गर्ने मजदुर तथा व्यवसायीलाई दु:ख दिएर समस्या हल हुँदैन।’
अध्यक्ष प्रचण्डले कबाड व्यवसायको उचित व्यवस्थापनका विषयमा महानगर नेतृत्वसँग समेत छलफल गरेर सकारात्मक वातावरण निर्माणका लागि पहल गर्ने बताए।
कबाड संकलक तथा व्यवसायका क्रममा काठमाडौं महानगरपालिकाले अवरोध सिर्जना गरेका कारण व्यवसायी पीडित र विस्थापित हुन पुगेको भन्दै कबाड व्यवसायी संघर्ष समितिले अध्यक्ष प्रचण्डलाई पहल गरिदिन आग्रह गरेका हुन्।