सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले उक्त समिति गठन गरेको हो।
समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल नियुक्त भएका छन्। सिफारिस समितिमा अर्थमन्त्री अध्यक्ष रहने व्यवस्था छ।
अहिलेको गभर्नरको पदावधि चैत २४ सम्म छ। त्यतिञ्जेल सिफारिस समितिले नयाँ गभर्नरको नाम सरकारलाई पठाउनुपर्नेछ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर नियुक्त गर्न मन्त्रिपरिषदले अर्थमन्त्रीको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गर्नुपर्छ। पूर्वगभर्नर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुन क्षेत्रका प्रतिष्ठित व्यक्ति मध्येबाट एक जना नियुक्त गर्ने व्यवस्था ऐनले गरेको छ।
ऐनअनुसार सिफारिस समितिले गभर्नर नियुक्तिका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू र डेपुटी गभर्नर मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ।
मन्त्रिपरिषदले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई गभर्नर पदमा नियुक्त गर्नेछ।