सिराहाको औरही गाउँपालिकामा महायज्ञ लगाउन भनेर दलितको घर भत्काएको आरोप लागेकाहरूलाई रिहा गर्न जनता समाजवादी पार्टी नेपालले माग गरेको छ।
आइतबार जसपा नेपालका सिराहा अध्यक्ष अशोककुमार यादवसहितका नेताहरूले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै पालिका अध्यक्षसहित प्रहरी नियन्त्रणमा रहेकाहरूलाई रिहा गर्न माग गरेका हुन्।
पार्टी अध्यक्ष यादवले प्रशासनले छलफलका लागि भनेर बोलाएर पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादव लगायतलाई थुनामा राखेको आरोप लगाएका छन्।
पालिका अध्यक्ष यादव गत स्थानीय तह निर्वाचनमा जसपा नेपालबाट निर्वाचित भएका थिए।
'औरहीको पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष लगायत केही व्यक्तिहरूलाई मिति २०८१ चैत ८ गते जिल्ला प्रहरी कार्यालय सिराहाले केही कुराको छलफलका लागि बोलाई निजहरूसँग कुनै किसिमको छलफल नगरी मानमर्दन हुनेगरी थुनुवामा राखी...,' ज्ञापन पत्रमा भनिएको छ।
जसपाले उनीहरूको मानमर्दन हुनेगरी थुनुवामा राखेको समेत आरोप लगाएको छ। शनिबारकै दिन झूटा आरोप लगाएर जाहेरी दर्ता भएको अध्यक्ष यादवले ज्ञापनपत्रमा लेखेका छन्।
उनीहरूमाथि राजनीतिक प्रतिशोध लिइएको पनि अध्यक्ष यादवले बताएका छन्।
'निर्वाचित पालिका अध्यक्ष शिवजी यादव लगायतका व्यक्तिहरूमाथि राजनीतिक प्रतिशोधका कारण कपोलकल्पित रूपमा छुवाछूतको मुद्दा लगाई प्रताडित गरी थुनामा राखेको हुँदा जनता समाजवादी पार्टी नेपाल, सिराहाको गम्भीर ध्याणाकर्षण भएको छ,' ज्ञापन पत्रमा भनिएको छ।
'त्यस कारण म उक्त झूटा आरोपमा गा.पा. अध्यक्ष जस्तो मर्यादित व्यक्ति लगायत अरू व्यक्तिहरू र ती व्यक्तिहरूले चढिआएको मोटरसाइकल समेत भित्र राखेको हुँदा निज अध्यक्ष लगायत सम्पूर्ण गिरफ्तार गरिएका व्यक्तिहरूलाई अविलम्ब स-सम्मान थुनामुक्त गर्न जसपा नेपाल, सिराहा जोडदार माग गर्दछ,' ज्ञापन पत्रमा भनिएको छ।
जसपा सिराहा अध्यक्ष यादवले आफ्नो मागको सुनुवाइ नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।
'त्यसबाट उत्पन्न हुने विषम परिस्थिति र क्षतिको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सम्बन्धित सरोकारवालाहरू स्वयं नै हुने कुरा यसै ज्ञापनपत्रमार्फत् समेत जानकारी गराइन्छ,' प्रजिअलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ।
औरही-५ मा चैत १७ गतेदेखि विष्णु महायज्ञ लगाउन भनेर गाउँपालिका अध्यक्ष यादवले दीपक मल्लिक (डोम)को घर भत्काउन लगाएको आरोप छ।
मल्लिकको परिवार बस्ने घर भत्काएपछि दलितले टेकेको माटोसमेत अपवित्र हुन्छ भनेर पालिका अध्यक्षकै निर्देशनमा त्यहाँको माटो ताछेर फालिएको आरोप पीडित परिवारको छ।
घटनापछि शुक्रबार पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शनिबार पीडित दीपक मल्लिकले प्रहरीमा पालिका अध्यक्षसहित तीन जनाविरूद्ध जाहेरी दिएका छन्।