नेपाली कांग्रेसले अहिले शक्ति प्रदर्शनको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले अहिले सडकमा उत्रिएर आन्दोलन गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
राजावादी र समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्।
अहिलेको व्यवस्था जनताले ल्याएको व्यवस्था भएकोले सडकमा आन्दोलन गर्नुपर्ने अवस्था नरहेको कांग्रेसको भनाइ छ।
जनताले संविधान सभाबाट बनाएको संविधानबाट नै जनताका आवश्यकता र समस्या हल गर्न सकिने प्रवक्ता महतले बताए।
‘यही संविधानमार्फत् जनताका आवश्यकता र समस्या सम्बोधन गर्न सकिन्छ,’ उनले भने।
राजसंस्था पुनर्संरचनाबारे भइरहेका चर्चालाई लिएर सोधिएको प्रश्नमा महतले आइतबार सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिअनुसार पार्टी अघि बढ्ने बताए।
देउवाले अब संवैधानिक राजा मुलुकमा फर्कन सम्भव नरहेको र राजनीति गर्न मन भए पूर्वराजालाई राप्रपाको सभापति बनाउन आग्रह गरेका थिए।
प्रवक्ता महतले सरकारका कामकारबाही थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको बताए।
कार्यसम्पादन समिति बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा, ‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो।
नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ’ भन्ने उल्लेख छ।
साथै संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसंगतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिन्छ भन्नेमा नेपाली कांग्रेसको दृढ विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ।
‘यही विश्वास साथ अघि बढ्नु नै आजको मुख्य राष्ट्रिय जिम्मेवारी ठान्दै नेपाली कांग्रेस यसका निम्ति आवश्यक अग्रसरता लिने निर्णय गर्दछ,’ बैठकले गरेको निर्णयमा उल्लेख छ।