नेपाली कांग्रेसनिकट लोकतान्त्रिक अपांग संघको निर्वाचन भए पनि मतगणना सुरू हुन सकेको छैन।
मतदान प्रक्रिया सुरू गर्न हस्ताक्षर गरेका कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ मतगणना रोक्न लागिपरेको आरोप लागेको छ।
शनिबार निर्वाचन प्रक्रिया सुरु गर्न श्रेष्ठले निर्वाचन समितिले तयार गरेको पत्रमा हस्ताक्षर गरेका थिए। श्रेष्ठ पार्टीले संघको प्रथम महाधिवेशन गर्न बनाएको निर्देशन समितिका सदस्य छन्।
निर्देशन समितिको संयोजक अर्का केन्द्रीय सदस्य मधु आचार्य हुन्। यस्तै समितिकी अर्की सदस्य सरस्वती बजिमय विदेशमा छिन्।
संघको महाधिवेशनमा अध्यक्षमा माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार छन्।
संघको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो। मतदान प्रक्रिया सुरू भइसकेपछि चम्लागाई बाहेक उम्मेदवारहरू थापा र खड्का मतदानको विरोधमा उत्रिएका थिए।
निर्देशक समितिका सदस्य श्रेष्ठले आफूले निर्वाचन प्रक्रिया अघि बढाउन सहमति दिएर हस्ताक्षर गरेको तर अहिले प्रक्रिया गलत भएकाले सभापति शेरबहादुर देउवालाई विकल्प सोच्न भनेको बताए।
‘मैले निर्वाचन सुरू गर्न सहमति दिएको हुँ, कागजी प्रक्रियामा हस्ताक्षर गरेको छु, तर साथीहरु मान्नु भएन, सभापतिलाई मिलाउनु पर्छ भनेको छु,´ श्रेष्ठले भने।
उनले निर्वाचन सुरू गर्न आफूले हस्ताक्षर गरेको स्वीकार गर्दै कमजोरी भएको बताए।
उनी मतगणना सम्पन्न भएपछि गरिनुपर्ने कागजी प्रक्रियामा सहभागी नभई हिँडेका थिए। उनलाई कांग्रेस सचिव प्रेम केसीले पटकपटक फोन गर्दा पनि सम्पर्कमा आएका थिएनन्।
श्रेष्ठले मतदाताको नाम प्रकाशन गर्न ढिला भएकाले आफूले विरोध गरेको बताए।
यस्तै मतदाताको सम्पर्क नम्बर नटाँसिएकोमा आफ्नो विरोध रहेको उनले बताएका हुन्। श्रेष्ठलाई आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना रोकेको भन्दै मतदाताहरूले घेरा हालेका थिए।
मतदाताहरूले मतगणना नरोक्न श्रेष्ठसँग माग गरेका छन्।
निर्देशन समितिका संयोजक आचार्यले भने मतगणना सुरू गर्ने तयारी भइरहेको बताए। उनले लोकतान्त्रिक पार्टीमा भएको लोकतान्त्रिक अभ्यास सबैले स्वीकार गर्नुको विकल्प नभएको बताए।
मतगणना ढिलाइ भएपछि देशभरबाट आएका प्रतिनिधि कांग्रेस केन्द्रीय कार्यालय अघि धर्नामा बसेका छन्। उनीहरूले मतगणना तत्काल सुरू गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन्।
निर्वाचनमार्फत अध्यक्ष, उपाध्यक्ष महिलासहित दुई, महासचिव दुई, खुला केन्द्रीय सदस्य ७ र कोशी प्रदेशको भूगोलबाट निर्वाचित हुने दुई केन्द्रीय सदस्यबाहेक अरू पदमा निर्विरोध भैसकेको छ।
महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ। जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ।
बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन्। यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भइसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेको वर्तमान अध्यक्ष प्रकाश पन्तले जानकारी दिए।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार महाधिवेशन उद्घाटन भएको थियो।