स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको विकास गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनका लागि योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताए।
आम जनतालाई गुणस्तरीय सेवा दिनका लागि योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको भन्दै मन्त्री पौडेलले अहिलेको अवस्थामा सरकारले मात्रै लागनी गरेर जनतालाई बीमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री पौडेलले सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकमका साथै सरकारी क्षेत्र र विभिन्न संघसस्थामा काम गर्नेहरूले दुई प्रतिशत बीमा बोर्डमा जम्मा गर्न सक्ने अवस्था भए मात्रै अहिले बीमा क्षेत्रमा देखिएको समस्या हट्ने तथा सेवालाई प्रभावकारी बनाउन सकिने तर्क गरे।
सरकारले बीमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेको भन्दै अहिलेको अवस्थामा खर्चले धान्न नसक्ने अवस्था भएकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीलाई अघि सारेको उनको भनाइ थियो।
बीमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आउने गरेको भन्दै त्यसमा सुधारको आवश्यकता रहेको पनि उनले बताए। स्वास्थ्य बीमाका क्षेत्रमा केही विकृति रहेको भन्दै उपचार नै नगरी भुक्तानी माग्ने गरेको गुनासो आउने गरेको हुँदा त्यसमा कारबाही हुनुपर्ने बताए।
सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको फार्मेसीमा औषधी नराख्ने, सरकारी अस्पतालबाट दिने सेवा बिरामीलाई बाहिर रिफर गर्ने गरेको पाइए कारबाही हुने चेतावनी दिए ।