नेकपा (एकीकृत समाजवादी) बाट राष्ट्रिय सभा सांसद घनश्याम रिजालले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गरेका छन्।
आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले जिल्लाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलिप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मल्लिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन माग गरे।
उक्त घटनाले ६० लाख दलित समुदायलाई अपमानित गरेको उनको भनाइ छ।
उनले भने, ‘दलितले बसोबास गरेको माटो अपवित्र हुन्छ भन्दै घर रहेको जमिनको माटो समेत खनेर फालिएको छ। म यो जघन्य अपराधको निन्दा गर्दछु। यो घट्नाले झन्डै ६० लाख दलित समुदायलाई अपमानित गरेको छ। संविधान र कानूनको धज्जी उडाएको छ भने नेपाल र संसारभरी बसेर रहेका सभ्य नेपाली नागरिकको शीर लाजले झुकाउन बाध्य बनाएको छ। निर्वाचित जनप्रतिनिधिले यस्तो अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो पारिदिएको छ। घटनाको सत्यतथ्य छानबिन गर्नको लागि संसदीय समितिको माग गर्दछु।’
उनले निर्वाचित प्रतिनिधिले नै अपराधको नेतृत्व गर्नुले नेपाली समाजको चेतनाको स्तर उदांगो भएको बताए।—न्युज एजेन्सी नेपाल
यी पनि:
घर भत्काइएका दीपकले दिए पालिका अध्यक्षसहित ३ जना विरूद्ध जाहेरी
महायज्ञ गर्न दीपक मल्लिकको घर भत्काएको आरोपमा पालिका अध्यक्ष र पूर्व-वडाअध्यक्ष पक्राउ
दीपक मल्लिक भन्छन्- अध्यक्षज्यूले नै यहाँ महायज्ञ हुँदैछ, अन्त सारिदिन्छौं भने