ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलवायु परिवर्तनबाट भविष्यमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।
आइतबार काठमाडौंमा विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रलाई सम्बोधन गर्दै उनले हिमनदीहरू क्रमशः साना हुँदै गइरहेको र जलावयु परिवर्तनको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको बताए।
उनले अहिले नै जलवायु परिवर्तनबाट पर्ने असर न्यूनीकरणका लागि पूर्व तयारी नगर्ने हो भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्ने बताए।
जलवायु परिवर्तनका कारण नेपालका हिमनदीहरू पग्लिने क्रम बढिरहेको र हिमताल फुट्ने क्रम पनि जारी रहेको बताए।
उनले सरकारले पूर्वसूचना प्रणालीलाई अझ बलियो बनाउने काम गरिरहेको बताए।
मन्त्री खड्काले पछिल्ला वर्षहरूमा पूर्वसूचना प्रणालीका कारण धेरै जनधनको क्षति हुनबाट रोकेको बताए।
जलवायु परिवर्तनका जोखिमहरू ध्यानमा राखेर सरकारले बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए।
मन्त्री खड्काले भने, ‘नेपालमा धेरैजसो जलविद्युत परियोजनाहरू, सिँचाइ आयोजना र दैनिक उपभोग्यका लागि उपलब्ध पानीको स्रोत मुख्य आधार हिमनदीहरू हुन्। यस अर्थमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका साथै हिमनदीहरूको संरक्षण समयमै पूर्वसूचना प्रणाली र सुदृढीकरण र जोखिम न्यूनीकरणका उपायहरू अघि बढाउनु हाम्रो प्राथमिकतामा पर्नेछ। नेपालका हिमनदीहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेका छन्। वैज्ञानिक अध्ययनहरूले स्पष्ट देखाएको छ कि नेपालको हिमताल फुट्ने र हिमनदीहरू पग्लिने दर बढ्दो छ। यसले निम्त्याउने सम्भावित जोखिमहरू उच्च छन्। हाम्रा हिमनदीहरू क्रमशः साना हुँदै गइरहेका छन्। यसको प्रत्यक्ष असर नेपालका नदी प्रणाली, जलविद्युत आयोजना, कृषि प्रणाली, पर्यटन क्षेत्र र सम्पूर्ण जैविक विविधतामा परिरहेको छ। हामीले भविष्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गरी यदी अहिले नै उचित तयारी सुरू गरेनौं भने भविष्यमा नेपालको जलस्रोतमा गम्भीर चुनौती आउनसक्छ।’
मन्त्री खड्काले सरकार हिमनदीहरूको विस्तृत अध्ययन, जलचक्रको वैज्ञानिक अनुगमन गर्दै जाने प्रतिबद्धता जनाए।
हिमनदीहरूको संरक्षण र जलवायु परिवर्तनहरूको असर न्यूनीकरण सहकार्य गर्न सरकार अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्दै अघि बढिरहेको बताए। —न्युज एजेन्सी नेपाल