नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउनका लागि बनेको आरोप लगाएका छन्।
शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताए।
उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई जोगाउने र नराम्रो गर्नेलाई पुरस्कृत गर्ने काम गरिरहेको बताए।
उनले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहेको आरोप लगाए।
अध्यक्ष दाहालले भने, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ। लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन। लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरूलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ। उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ।’
उनले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गरे।
उनले आफू २०८४ सम्म जनताकै साथमा रहने बताए।
सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने बताए।
सरकारमा हुँदा भ्रष्टाचारविरूद्धको आन्दोलन छेडेको बताए। आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरूले सरकारमा हुँदा जोड दिएको बताए।
आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरूले हटाएको बताए। —न्युज एजेन्सी नेपाल