राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको बताएका छन्।
शुक्रबार उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौंले ६० लाख रुपैयाँ धरौटी मागको आदेश बदर गर्न निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको लाज छोप्नका लागि आफू अदालत धाइरहेको बताएका हुन्।
‘सरकार अहिले नांगिएको हुनाले लाज छोप्नका लागि म अदालत घुमिरहेको छु। सरकारको लाज छोप्दिनुपर्नेछ। म ठाउँठाउँमा पुग्नुपर्नेछ। समय आउँदैछ। सबैलाई तयार हुनका लागि भन्न चाहन्छु। गेट रेडी फर द रेभुलेसन,’ उनले भने।
त्यस्तै, दुई तिहाइको सरकारले समस्याको समाधान गर्ने बाचा गरे पनि कुनै विषम परिस्थिति बिना नै मिलेको हुँदा यसले भयावहको स्थिति निर्माण गर्नेबारे पनि संसदमा बोलेको बताए।
‘दुई तिहाइको सरकार छ। दुई तिहाइको सरकारले देशको तमाम समस्या समाधान गर्नुपर्ने थियो। के बाचा गरेको थियो,’ उनले भने, ‘एउटै कुरा स्मरण गराउन चाहन्छु। मैले संसदमा जब दुई ठूला राजनीतिक दलहरू बिना कुनै विषम परिस्थितिमा मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति भयावह हुन्छ तपाईंहरूलाई अन्दाज छ भनेर भनेको थिएँ। त्यही स्मरण गराउन चाहन्छु।’
उनले आफू बोले दुई तिहाइको सरकारलाई अप्ठ्यारो पर्ने पनि उनले बताए।
सञ्चारकर्मीले रवि लामिछाने र राजावादीको प्रदर्शनबारे पनि प्रश्न गरेका थिए। त्यसमा उनले आफू कुनै आवेग र उत्तेजनामा आएर अभिव्यक्ति नदिने जबाफ दिए।