राजावादीविरूद्ध सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले) पनि आन्दोलन गर्ने भएको छ।
बिहीबार महासचिव शंकर पोखरेलले जुम बैठकमार्फत् जिल्ला अध्यक्षहरूलाई सम्बोधन गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी गराएका हुन्।
‘आज महासचिवज्यूले ४६ औं सचिवालय बैठकको निर्णयबारे जानकारी गराउँदै जरा अभियानलाई सघाउ पुग्ने गरी थप जनपरिचालनबारे निर्देशन दिनुभएको छ,’ एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले सेतोपाटीसँग भने, ‘जरा अभियानकैबीच एमालेले थप केही अभियानहरू सञ्चालन गर्छ।
उनका अनुसार एमालेले आगामी चैत ११ गते देशैभर प्रतिगामी कुप्रयासबारे जनसचेतना कार्यक्रम गर्नेछ।
‘पञ्चायतको अन्त्यपछि प्राप्त गरेका उपलब्धीसमेतको जानकारी गराउने गरी आगामी चैत ११ गते वडावडामा कार्यक्रम गर्नेछौं। अहिले केही पनि भएको छैन। सबै बरबाद भयो भन्ने जे प्रचार गरिँदैछ, त्यसलाई चिर्छौं,’ उनले भने।
त्यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नागरिक समाज र विभिन्न पक्षसँग केन्द्र र जिल्लास्तरमा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने जानकारी पनि जुम बैठकमा महासचिव पोखरेलले गराएका थिए।
एमालेले चैत १८ गते काठमाडौं उपत्यका, कैलाली, सुर्खेत, रुपन्देही, कास्की, पर्सा र झापा बाहेकका सबै जिल्लामा जिल्लास्तरीय जनप्रदर्शन र जागरण सभा आयोजना गर्ने एमालेको तयारी छ।
जागरण सभा नहुने जिल्लामा मोटरसाइकल र्याली गर्ने महासचिवले बताएका थिए।
चैत २४ देखि ३० गतेभित्र धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा विशेष सभाको आयोजना गर्ने एमालेको तयारी छ। ती सभाको दिन पछि तोकिने जानकारी महासचिव पोखरेलले गराएको त्रिपाठीले बताए।
‘काठमाडौं उपत्यकाको भित्र गरिने सभाको मिति पनि पछि तोकिनेछ,’ त्रिपाठीले भने, ‘यी सबै अभियान अहिले जारी जरा अभियानलाई टेवा पुग्नेगरी हुनेछ।’
गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा राजावादीहरूले स्वागत तथा प्रदर्शन गरेका थिए।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै राप्रपा, नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वमा भिन्नभिन्नै संघर्षका कार्यक्रम गर्ने तयारी भइरहेका बेला एमालेले अहिलेको व्यवस्थाका पक्षमा आन्दोलन गर्न लागेको हो।