नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस-एमाले सरकारले सुशासन पटक्कै दिन नसकेको बताएका छन्।
बिहीबार काठमाडौंको बत्तिसपुतलीमा भएको 'गिरिजाप्रसाद र लोकतन्त्र' विषयक अन्तर्क्रियामा बोल्दै कोइरालाले भने, ‘गिरिजाबाबु बितेको १५ वर्ष भइसक्यो, हामीहरूले पाठ नै सिकेनौं। नेताहरूले केही सिक्दै सिकेनौंजस्तो भयो, केही न केही त हामीले गर्नुपर्थ्यो नि। आजको दिन पनि हामी सरकारमै छौं, कांग्रेस सरकारमा छ। कांग्रेस र एमाले सरकारमा छौं, सुशासनका लागि काम गर्नुपर्यो।’
उनले सुशासन पटक्कै नभएको पनि बताए।
‘भन्न त हुँदैन- सुशासन पटक्कै छैन भने पनि हुन्छ। उहाँहरूलाई मन लाग्यो १, २, ३ सिफारिस आउँछ, मन्त्रिपरिषदमा जान्छ। उहाँहरूलाई मनलाग्यो ३ नम्बर, चित्त बुझे एक नम्बरको हालिदिनुहुन्छ,’ सरकारले गरेका नियुक्तिलाई लक्ष्य गर्दै उनले भने, ‘सुशासन पटक्कै छैन, यो कुरा हामीहरूले भन्ने कि नभन्ने, मैले त सार्वजनिक रूपमा भनिरहेको छु।’
उनले कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नभएको बताए। ‘यहाँ रहेका कोही पनि मन्त्री छैनौं, मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्,’ उनले भने, ‘सरकारमा नभएका हामीहरूको जिम्मेवारी सरकार, कांग्रेस र एमालेलाई खबरदारी गर्ने हो।’