दाङ तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले 'क्लिन स्वीप' गरेको छ।
सभापतिमा प्रमोद भण्डारीसहित सबै पदहरू नेविसंघले जितेको हो।
भण्डारीले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी (३४८) मतले विजय हासिल गरे। भण्डारीले ७३७ मत प्राप्त गरे।
भण्डारीका निकटतम प्रतिस्पर्धी संयुक्त विद्यार्थी प्यानलका सभापति पदका उम्मेदवार लेखमणी खत्री (लक्ष्मण)ले ३८९ मत प्राप्त गरे। लेखमणि पनि नेविसंघकै नेता हुन्। पार्टीबाट स्ववियु सभापतिमा टिकट नपाएपछि अन्य जम्मैसँग संगठनहरूको नेतृत्व गर्दै लेखमणि चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो। नेविसंघ भने एक्लै मैदानमा थियो।
बबई क्याम्पसको स्ववियु सभापतिमा दुई स्वतन्त्रसहित चार जनाको बीचमा प्रतिस्पर्धा भएको थियो।
स्वतन्त्र दुई उम्मेदवारमध्ये कोमलबहादुर वली (केबी) ले १३७ र कृष्ण केसी (डेभिड खत्री) ले जम्मा २९ मत मात्रै प्राप्त गर्न सके।
सचिव पदमा पनि नेविसंघका टोपबहादुर वली ६१२ मत प्राप्त गरी विजयी भए। सचिव पदका संयुक्त विद्यार्थी प्यानलकी उम्मेदवार सोनिया थापाले ५६५ मत प्राप्त गरिन्।
सचिव पदमा स्वतन्त्र उम्मेदवार अङ्किता डाँगीले हालसम्म जम्मा ५७ मत मात्रै प्राप्त गरिन्।
कोषाध्यक्ष पदमा पनि नेविसंघकी उम्मेदवार शिक्षा नेपाली ५६२ मत प्राप्त गरी विजयी भइन्। संयुक्त विद्यार्थी प्यानलका तिलकराज डाँगीले ४४७ र स्वतन्त्रका आसिक मियाँले जम्मा ९५ मत प्राप्त गरे।
प्रत्यक्षतर्फको सदस्य पदहरूमा पनि नेविसंघकी मनिषा चौधरीले ७६२ मत, रूपेश चौधरीले ७५४ मत, यामकुमारी भण्डारीले ७४६ मत, सञ्जिव चौधरीले ७१४ मत, ममता वलीले ७३९ मत, करूणा नेपालीले ७१५ मत र लक्ष्मण वलीले सर्वाधिक बढी ८२५ मत प्राप्त गरी निर्वाचित भए।
संयुक्त विद्यार्थी प्यानलका प्रत्यक्षतर्फ सदस्य पदका उम्मेदवारहरूमध्ये नेबबहादुर भण्डारी (नबीन) ले ४८६ मत, कबि सेन सिनले ४९५ मत, प्रेम केसीले ४६८ मत, दिलिप शर्मा (दीपक) ले ५५३ मत, अनिता खड्काले ४६४ मत र तुलसीराम भण्डारीले ४९० मत प्राप्त गरेका थिए।
तुलसीपुरको राप्ती बबई क्याम्पसमा नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको थियो।
निर्वाचन समितिका सूचना अधिकारी प्राध्यापक चमन धितालका अनुसार क्याम्पसमा अध्ययनरत ३३१४ विद्यार्थीमध्ये जम्मा १४१७ जना मात्रै मतदानमा सहभागी भए।
बुधबार सार्वजनिक नतिजा अनुसार लमहीस्थित देउखुरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा स्वतन्त्र विद्यार्थीले 'क्लिन स्वीप' गरेको थियो।
ठूला राजनीतिक दलहरूका संगठनहरूलाई परास्त गर्दै ‘स्वतन्त्र विद्यार्थी परिवार’ का तर्फका उम्मेदवारी दिएका सबै उम्मेदवार निर्वाचित भएका हुन्।
स्वतन्त्रका सभापति पदका उम्मेदवार मिलन चौधरी ४४६ मत प्राप्त गरी निर्वाचित भएका थिए।
निकटतम प्रतिस्पर्धी अखिल संयुक्तका शम्भु जिसीले २५७ मत प्राप्त गरे। चौधरी जिसीभन्दा १८९ मत बढी प्राप्त गरी निर्वाचित भएका थिए।
देउखुरीकै राप्ती गाउँपालिका–२ लालमटियाको ऐरावती आदर्श बहुमुखी क्याम्पसमा विनोदकुमार सोनीको पूरै प्यानल विजय भएको छ। उनी माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का हुन्।
सोनीलाई नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा निकट गठबन्धन (अखिल क्रान्तिकारी र अखिल छैटौं) को समर्थन थियो। सोनी २१४ मत प्राप्त गरी निर्वाचित भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका सभापति पदका उम्मेदवार प्रकाश पुनले १५८ मत प्राप्त गरेका थिए।
जिल्लाको सबभन्दा पुरानो र ठूलो क्याम्पस दाङको घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पस लगायत अन्यमा भने सर्वसम्मत रूपमा स्ववियु नेतृत्व चयन भएको थियो।
भरतपुर क्याम्पसमा नेपाल विद्यार्थी संघका दिपेश डिसी सर्वसम्मत रूपमा क्याम्पसको स्ववियु सभापति चयन भएका थिए।
जिल्लामा त्रिविबाट सम्बन्ध प्राप्त जिल्लामा २५ क्याम्पसहरू छन्। जसमध्ये नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय क्याम्पस बेलझुण्डीका साथै मातहतका तीन क्याम्पसमा भने तालाबन्दीका कारण निर्वाचन हुन सकेन।
जनता विद्यापिठ बिजौरी र केन्द्रीय आयुर्वेद कार्यालय (बाम्स) मा निर्वाचन हुन सकेन।
केन्द्रीय क्याम्पस, जनता विद्यापिठमा नेकपा माओवादी केन्द्र निकट अखिल (कान्तिकारी) र बाम्समा नेकपा एमाले निकट अखिलले तालाबान्दी गरेका कारण ती क्याम्पसहरूमा निर्वाचन हुन नसकेको हो।