प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसद जनार्दन शर्माले वंशनाशसँगै अन्त्य भएको राजतन्त्र फेरि नफर्किने बताएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद शर्माले सार्वभौम भएका जनता फेरि राजतन्त्र ल्याउने मुर्खता नगर्नेमा आफू विश्वस्त भएको बताएका हुन्।
'बरू समाजमा रहेका बाँकी राजतन्त्रात्मक सोच, शैली र प्रवृत्ति व्यवहार भने अन्त्य गर्नुपर्छ। आफैभित्रको राजतन्त्र अन्त्य गर्न लाग्नुपर्छ। आजको मुख्य काम यही हो,' उनले भने,' राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशंकित गर्न जरुरी छैन। हो-हल्ला गर्नु जरूरी छैन। ढुक्क हुन अनुरोध गर्न चाहन्छु।'
उनले देशमा केही पनि भएन भन्ने भाष्य गलत रहेको पनि बताए।
'यहाँ पूर्वाधारका हिसाबले, मानव सूचांककाका दृष्टीकोणले हेर्दा धेरै कुरा भएका छन्। ती कुराहरूलाई जनतामा स्थापित गर्ने कुरामा हाम्रो कमी भएको छ,' उनले भने।
यद्यपि नयाँ पुस्ताको सोच र आवश्यकताअनुसार अगाडि बढ्न नसकेको भने उनले स्वीकारे।
'सबै कुरा ठीकठाक छ भन्ने कुरा होइन।आश्वासन, महत्वाकांक्षा, आवश्यकता, नयाँ पुस्ताको सोच र छिमेकी मुलुकहरुको गतिमा हाम्रो प्रगति नभएको पक्कै हो। त्यसकारण दुवै कुरालाई सही ढंगले मूल्यांकन गर्न जरूरी छ,' शर्माले भने।
संविधान निर्माणपछि त्यसको कार्यान्वयनतिर, आर्थिक विकासतिर, अर्थतन्त्रको सुधार गर्नतिर, जनताको जनजिविकाको क्षेत्रमा सुधार गर्नतिर भन्दा पनि पार्टीहरू, नेताहरूबीच कुर्सीको छिनाझपटी, सत्तामोह, एक अर्काप्रतिका गालीगलौज र अवसर पाउँदा सबै गठबन्धनाम सामेल हुने प्रवृत्ति संस्कार र अभ्यासका कारण समस्या उत्पन्न भएको उनले बताए।
'राजतन्त्र फर्किन्छ भन्ने डर छँदैछैन। बरू हाम्रा कमी कमजोरी स्वीकार्न र सच्याउन सक्छौं कि सक्दैनौं भन्ने डर मात्रै छ,' उनले भने।