प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले विद्यालय शिक्षा विधेयक यथाशीघ्र संसदमा पेस गर्न आग्रह गरेका छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद दाहालले सहमति भएका विषयहरू कार्यान्वयन नभएपछि शिक्षकहरू पुनः आन्दोलनमा उत्रिएकाले तत्काल उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन्।
'प्रचण्ड नेतृत्वको सरकार पालामा आन्दोलित शिक्षक महासंघसँग ५ बुँदे र राहत शिक्षक संगठनसँग ६ बुँदे सहमतिपछि स्थगित भएको आन्दोलन फेरि सुरू भएको छ,' उनले भने।
त्यतिबेला भएका सहमतिहरू विधेयकमा समावेश गर्ने उद्धेश्यले सरकारकै तर्फबाट आफू लगायतका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएको दाहालले बताए।
'त्यो संशोधन प्रस्तावलाई विधेयकमा समावेश गरी तत्काल सम्मानीत सदनमा विधेयक पेस गर्न सभामुखमार्फत निर्देशन होस्,' उनले भने।
गत फागुन २४ गते काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेका थिए। उनीहरूले विगतमा भएका सहमति कार्यान्वयनको माग राखेका छन्।
सहमति कार्यान्वयन गर्ने विषयमा सरकार उदासिन बने ठूलो संख्यामा शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा सहभागी हुने चेतावनी दिएका थिए।
उनीहरूले नेपाली कांग्रेस र नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्नासमेत दिएका थिए।