सत्तारूढ नेकपा (एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी राजाका पालादेखि नै भइरहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद पन्तले त्यतिबेलादेखि अहिलेसम्म सुनको तस्करी निरन्तर भइरहेको बताएका हुन्।
'पर्दापछाडिका मानिसहरू न त्यो बेला पक्रिन सके, न यो बेला पक्रिए,' उनले भने।
त्यसकारण यसलाई शान्ति सुरक्षाका दृष्टिकोणले मात्रै हेर्न नहुने उनले बताए।
'सुन तस्करी मुख्य आर्थिक कारण के हो हेर्नुपर्छ। किन मान्छेहरू सुन तस्करी गर्न चाहन्छन्? हामीले आवश्यक भएकोजति सुन हामीले बैध रूपमा ल्याउन नसकेको हो भने खुला गर्नुपर्यो,' उनले भने।
त्यसो होइन भने यसलाई आर्थिक दृष्टिकोणबाट सम्बोधन गरेर सकिने विषयहरूमा सरकारले त्यसलाई अघि सारेर सम्बोधन गर्नुपर्ने सांसद पन्तले बताए।
'किनभने हामी ग्रे लिस्टमा परेका छौं। तस्करी भइराख्छ भन्ने मेसेज जानु राम्रो होइन। त्यसैले यसका आर्थिक आधारहरूलाई समाप्त पार्ने विषयहरू के-के हुन सक्छन् सरकारले स्पष्ट पारोस्,' उनले भने।