दाङका २५ क्याम्पसहरूमध्ये तीन क्याम्पसहरूमा मात्रै मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चुन्न मतदान भएको छ।
तुलसीपुरको राप्ती बबई क्याम्पस र देउखुरीका एरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया र देउखुरी बहुमुखी क्याम्पसमा नेतृत्व चुन्न मतदान भएको हो।
जिल्लाको दोस्रो ठूलो क्याम्पस तुलसीपुरको राप्ती बबई क्याम्पसमा बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदान भएको हो।
राप्ती बबई क्याम्पसमा स्ववियु सभापति पदका लागि चार जना प्रतिस्पर्धामा छन्। नेपाल विद्यार्थी संघ, संयुक्त विद्यार्थी युनियन र स्वतन्त्र रूपमा दुई जना प्रतिस्पर्धामा छन् ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघबाट प्रमोद भण्डारी सभापति पदका उम्मेदवार छन्।
बबई क्याम्पसमा अहिले संयुक्त विद्यार्थी प्यानलको तर्फबाट स्ववियु सभापतिमा लेखमणि खत्री (लक्ष्मण) प्रतिस्पर्धामा छन्। लक्ष्मण पनि नेविसंघकै नेता हुन्। टिकट नपाएपछि असन्तुष्ट बनेका उनले आफू नेतृत्वमा विभिन्न विद्यार्थी संगठनलाई समेटर संयुक्त प्यानल खडा गरी उम्मेदवारी दिएका थिए।
संगठनविरूद्ध उत्रिएको भन्दै नेपाली कांग्रेस अनुशासन समितिले मंगलबारदेखि नै लागु हुने गरी खत्रीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
राप्ती बबई क्याम्पसमा स्वतन्त्र रूपमा दुई जना सभापति पदमा भिडेका छन्। जसमा कृष्ण केसी (डेभिड खत्री) र कोमलबहादुर वली (केबी) चुनावी मैदानमा छन्। सचिव पदमा नेविसंघबाट टोपबहादुर वली, संयुक्त विद्यार्थी प्यानलबाट सोनिया थापा, स्वतन्त्रबाट संकिता डाँगी प्रतिस्पर्धी छन्।
त्यस्तै, कोषाध्यक्ष पदमा नेविसंघबाट शिक्षा नेपाली, संयुक्त विद्यार्थी प्यानलबाट तिलकराज डाँगी र स्वतन्त्रबाट आसिक मियाँ उम्मेदवार छन्।
जिल्लाको सबभन्दा पुरानो र ठूलो क्याम्पस दाङको घोराही भरतपुरस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भने सर्वसम्मत चयन भएको थियो।
नेपाल विद्यार्थी संघका दिपेश डिसी सर्वसम्मत रूपमा क्याम्पसको स्ववियु सभापति बनेको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलले बताए।
त्रिविबाट सम्बन्धन प्राप्त जिल्लामा २५ क्याम्पस छन्। जसमध्ये अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय क्याम्पस बेलझुण्डीका साथै मातहतका तीन क्याम्पसमा भने तालाबन्दीका कारण निर्वाचन हुन सकेन।
जनता विद्यापिठ बिजौरी र केन्द्रीय आयुर्वेद कार्यालय (बाम्स) मा निर्वाचन हुन सकेन।
केन्द्रीय क्याम्पस, जनता विद्यापिठमा नेकपा माओवादी केन्द्र निकट अखिल (कान्तिकारी) र बाम्समा नेकपा एमाले निकट अखिलले तालाबन्दी गरेका कारण ती क्याम्पसमा निर्वाचन हुन नसकेको हो।